सत्ताइस वर्षअघि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बन्दै गर्दा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा एन्जेला मर्केल क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) पार्टीबाट भरखर राजनीतिमा प्रवेश गरेकी थिइन् । करिब १६ वर्ष जर्मनीको चन्सलर (कार्यकारी राष्ट्रप्रमुख) पद सम्हालेर मर्केलले राजनीतिबाट बिदा लिने घोषणा गरिन् ।
मर्केललाई प्रतिष्ठित फोब्र्स म्यागाजिनले १० वर्षसम्म विश्वको सबैभन्दा शक्तिशाली महिला घोषित गरेको थियो । आफ्नो कार्यकालको स्रोह्र वर्षमा उनले कुनै पनि आफन्त वा नातेदारलाई राज्यको कुनै पनि पदमा नियुक्त गरिनन् ।
उनी मेकअप, घरजग्गा, कार, निजी विमानजस्ता कुराहरूबाट टाढै रहिन् । एकपटक उनलाई सौन्दर्य सामग्री किन प्रयोग नगरेको भनेर गरिएको प्रश्नमा उनले भनेकी थिइन्, ‘म नागरिकको सेवक हुँ, मोडल होइन ।’
मर्केलले आफ्नो घरमा कामदार पनि राखेकी छैनन् र राख्नुपर्ने आवश्यकता नै नरहेको बताउँदै आएकी छिन् । उनी भन्छिन्, ‘म कपडाहरू मिलाउँछु मेरा श्रीमानले वासिङ मेसिन चलाउँछन् ।’ मर्केल आम नागरिक बस्ने अपार्टमेन्टमा बस्छिन् । उनको ठूलो घर, स्विमिङ पुल, बगैँचा इत्यादि केही पनि छैन ।
युरोपमा उच्च शिक्षा प्राप्त गर्ने नेपालका एक मात्रै प्रधानमन्त्री तथा राष्ट्रिय पार्टीका सभापति हुन् देउवा । नेपाली जनताले भने युरोपेली मुलुकका राजनीतिक नेताहरूले देखाएको त्यागको कथा सुनेर, पढेर चित्त चित्त बुझाउनु परेको छ ।
मर्केल पहिलो पटक चान्सलर बन्दा ५३ वर्षकी थिइन्, देउवा पहिलो पटक प्रधानमन्त्री बन्दा ५२ वर्षका । चार पटक चान्सलर बनेर ६८ वर्षको उमेरमा मार्केलले सक्रिय राजनीतिबाट विश्राम लिइन् । यता पाँच पटक प्रधानमन्त्री बनिसकेका ७९ वर्षीय देउवा भन्छन्, ‘ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छौ भनेका छन्, अझै दुई पटक बाँकी छ ।’
सत्ताइस वर्षमा पाँच पटक प्रधानमन्त्री बनिसकेका देउवाले अझै दुई पटक प्रधानमन्त्री बन्ने इच्छा मुलुकको हितका लागि राखेका हुन् कि व्यक्तिगत तुष्टिका लागि हो भन्ने प्रश्न निकै गम्भीर छ । केका लागि अब देउवा प्रधानमन्त्री बनिरहने ?
प्रधानमन्त्रीका रूपमा देउवाका कुनै पनि कार्यकाल स्मरणीय छैनन्, छन् भने पनि विकृतिको दृष्टान्तका लागि छन् । उनको पाँचौँ कर्यकाल कति घातक होला भन्ने अनुमान गर्न दल विभाजनसम्बन्धी अध्यादेश नै पर्याप्त छ । कांग्रेस चक्रव्यूहमा छ ।
नेपाली कांग्रेसको अधिवेशन भइसकेका करिब पाँच हजार नवनिर्वाचित वडा सभापतिहरूको विवरण हेर्ने हो भने करिब २५ प्रतिशत यस्ता छन् जो देउवा प्रधानमन्त्री बन्न सुरु गर्दा आमाको गर्भमा समेत थिएनन्, १८ देखि २७ वर्ष उमेर समूहका वडा सभापतिहरूको संख्या धेरै छ । यता फेरि प्रधानमन्त्री र पार्टी सभापति बन्ने देउवाको तिर्खा घट्दो होइन, झन् झन् बढ्दो छ ।
लागु पदार्थको लतमा फसिसकेको व्यक्तिले आफैँ अब कोटा पुग्यो भन्दै सेवन त्याग्नु र देउवाले ‘अब सधँै कति आफैँमात्र अघि सर्ने, अब विश्राम गर्नुपर्छ’ भन्ने महसुस गर्नु उस्तै उस्तै हो ।
देउवाले कसैको सहाराले घरको ढोकाबाट निस्केर गाढीको ढोकाभित्र पस्न सक्ने अवस्था रहुन्जेल आफैँ ढलीमली गर्ने अनि श्रीमती र छोरालाई आफ्नो उत्तराधिकार सुम्पिने धोको पालेको निष्कर्ष निकाल्ने मानिसहरु नेपाली कांग्रेसभित्र धेरै छन् । यो निष्कर्ष ठाडै अस्वीकार गर्न गर्न सकिने अवस्था छैन ।
निश्चय नै राजनीतिमा सक्रिय हुन उमेरको हद हुँदैन । विश्वका मुलुकहरूको उदाहरण हेर्ने हो भने पनि कोही ९० वर्षको उमेरसम्म सक्रिय पदमा छन्, कसैले ५० वर्षको उमेरमा सक्रिय राजनीतिबाट विदा लिएका पनि छन् । अमेरिकाकै उदाहरण लिऊँ, बाराक ओवामाले र बिल बिल क्लिन्टनले ५२ वर्षको उमेरमा राजनीतिबाट विदा लिए । उनीहरूकै पार्टीका जो बाइडेन ८० छुन लाग्दा राष्ट्रपति पदमा निर्वाचित भए । नेपालमा विगत २७ वर्षदेखि के कति योगदानका आधारमा देउवा पटक पटक भइरहेका हुन् ? पहिलो कार्यकालमा उनले देश र जनताका लागि के कति उपलव्धि हासिल गरे ?
पहिलो भन्दा दोस्रो, दोस्रो भन्दा तेस्रो र तेस्रो भन्दा चौथो कार्यकालमा राम्रो काम गरेका कारणले पाँचौ कार्यकालका लागि अवसर पाएका हुन्?
उनले अहिलेसम्म प्राप्त गरेका पाँचै वटा अवसर काकतालीका उपज हुन् ।
देउवा आम निर्वाचनमा भावी प्रधानमन्त्रीका रूपमा जनतामा प्रस्तुत भएर देउवाले प्रधानमन्त्री बनेका होइनन् । उनी प्रधानमन्त्री बनेयता मुलुकमा चार वटा आम निर्वाचन सम्पन्न भइसकेका छन् । त्यसमध्ये सबैभन्दा पछिल्लो पटक अर्थात २०७४ सालमा देउवा भावी प्रधानमन्त्रीका रूपमा जनसमक्ष प्रस्तुत भएका हुन् तर नेपालको इतिहासमा यस पटक जति घातक परिणाम कांग्रेसले कहिल्यै व्यहोरेको थिएन ।
जनतामा देउवाको छवि के कस्तो छ भन्ने ज्वलन्त उदाहरण यहाँ भन्दा अर्को हुन सक्दैन ।
देउवाका पाँच वटा कार्यकाल मूल्यांकन गर्ने हो भने कुनै पनि यस्तो छैन जुनबेला मुलुकले कुनै न कुनै घात व्यहोरेको नहोस् ।
राजनीतिमा अपराधीकरण आरम्भ भएका कारण देउवाको पहिलो कार्यकाल मुलुकका लागि घातक बन्यो । दोस्रो कार्यकाल त संसदीय व्यवस्था नै दरबारमा बुझाएको र पार्टी समेत विभाजन गरेको कारण झन् घातक रह्यो । तेस्रो कार्यकालमा प्रतिगमन थप संस्थागत गर्न मद्दत पुर्याए । चौथो कार्यकालमा त नेपाली कांग्रेस तहस नहसन भयो ।
चौथो कार्यकालमा देउवाले झन्डै कार्यकर्ता बाहेक अरूले नेपाली कांग्रेसलाई भोट दिने ठाउँ नै राखेनन् । कतिपय निर्वाचन क्षेत्रमा त मतपत्रमा कांग्रेसको नाम र चुनाव चिह्न थिएन ।
देउवाको पाँचौ कार्यकाल पनि मुलुकका लागि किन घातक हुनेछ भन्ने प्रश्नको जवाफ त झन् झन् लामो र गम्भीर हुनेवाला छ । जम्माजम्मी १७ महिनाका लागि नियुक्त प्रधानमन्त्रीले साढे दुई महिनामा पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्नु सामान्य अक्षमता होइन ।
अझ डरलाग्दो पक्ष त अध्यादेश ल्याएर दल विभाजन गराउनु हो । यति खतरनाक नजीर बसेको छ कि अबका प्रधानमन्त्रीहरूले आफूले जुन दललाई जसरी चाहन्छन् त्यसरी नै विभाजन गर्न सक्ने भए । यो अध्यादेश प्रकरण त लोकतन्त्रका लागि २०५९ सालमा गरिएको प्रतिनिधिसभा विघटनभन्दा घातक हुनेछ ।
त्यतिबेला पनि देउवाले यस्तो हिम्मत गर्न सकेका थिएनन् । त्यतिबेला दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको भए देउवाले संसद विघटन गर्नै पर्दैनथ्यो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि दल विभाजन सम्बन्धी यस्तो अध्यादेश ल्याएको भए संसद विघटन गर्नै पर्दैनथ्यो ।
अबका प्रधानमन्त्रीले आफ्नो पद असुरक्षित हुनासाथ अवलम्बन गर्ने भनेकै दल विभाजन गर्न अनुकूल अध्यादेश हुनेछ, नजीरले काम गर्नेछ । अघिल्लो दिन संसदको अधिवेशन अन्त्य गरेर भोलिपल्ट दल विभाजन गर्ने अध्यादेश ल्याउने र संसदको अधिवेशन जारी रहेकै बेला अध्यादेश खारेज गर्ने निर्णय घोर प्रतिगामी हो । संसद चलिरहेको अवस्थामा अध्यादेश विधेयकद्वारा प्रतिस्थापन गर्नुपर्ने थियो तर खारेज गरियो ।
अध्यादेश नै खारेज गरिएपछि उक्त अध्यादेशमार्फत गरिएका काम कारबाहीहरूको कानुनी वैधताको प्रश्न अदालतले निरूपण गर्ला तर राजनीतिक वैधाताको निरूपण गर्ने जनताले हो । त्यो पनि चाँडै हुनेछ ।
यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रकरणको गतिलै जवाफ दिएको नजीर छ ।
नेपाली कांग्रेत त ठूलै चक्रव्यूहमा फसेको छ, अब उम्किने सम्भावना निकै कम छ । वडा तथा पालिका अधिवेशनले त्यसको संकेत गरिसकेको छ । एमाले विभाजन गरेर बनाइएको एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्र पनि तानिँदैछ ।
प्रतिनिधिसभाको कार्यकाल जम्मा १५ महिना बाँकी छ । यो अवधिमा प्रधानमन्त्री परिर्वतन गर्ने ताकत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको छैन । पछिल्लो समयमा प्रचण्ड र नेपालले देउवाको विकल्प खोज्ने प्रयास नगरेका होइनन् तर सम्भव देखिँदैन । प्रचण्ड र नेपालको गतिविधिको सुइँको पाउनासाथ प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षीदलका नेता केपी शर्मा ओलीलाई भेट्न आफ्ना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाए ।
एमालेलाई समेत सरकारमा सहभागी गराएर अघि बढ्ने गृहकार्य देउवाले आरम्भ गर्नु प्रचण्ड र नेपालका लागि सानो झापड होइन ।