औषधी/उपचार

एन्टीभाइरल चक्की आएपछि जनजीवन सामान्य हुने अपेक्षा

By मनोज घिमिरे

September 29, 2021

काठमाडौँ– गत जुन महिनामा कोभिड–१९ बाट संक्रमित भएपछि ४४ वर्षीया मिरान्डा केली ओछ्यान परिन् । उच्च रक्तचाप र मधुमेहको रोगी उनी उपचारका लागि इमर्जेन्सीमा भर्ना भइन् । उनी सहायक नर्स हुन्, अस्पतालमै कार्यरत भएले तुरुन्त उपचार सुरु भयो । मिरान्डाका ४६ वर्षीय श्रीमान् जो पनि कोरोना संक्रमित भएपछि घरमा रहेका पाँच जना टिनएजरको चिन्ता भयो । यसकारण मिरान्डाले श्रीमानलाई घरमा बस्दा सधैँ कोठाको झ्यालढोका खुला राखेर बस्न सुझाब दिइन् ।

एकातर्फ छोराछोरीहरूमा रोग सर्छ कि भन्ने चिन्ता थियो । अर्कोतर्फ श्रीमान् र आफू उपचारको क्रममा भेन्टिलेटरमा पुगेमा छोराछोरीको ख्याल कसले गर्ला भन्ने चिन्ता थपियो ।

रोग पत्ता लाग्ने बित्तिकै मिरान्डा फ्रेड हच क्यान्सर रिसर्च सेन्टरमा क्लिनिकल ट्रायलमा सहभागी हुन सहमत भइन् । कोभिड छिटो निको गराउन एन्टी भाइरल उपचारका निम्ति त्यहाँ परीक्षण भइरहेको थियो । त्यसको एक दिनपछि मिरान्डा र जोले दुई पटकमा दिनको चार चक्की प्रयोग गर्न थाले ।

उनीहरूलाई यो प्लेसेबो या औषधि भन्ने कुराको जानकारी दिइएको थिएन । एक सातामा उनीहरूको लक्षण कम हुँदै गयो । दुई सातामा उनीहरू ठिक भए ।

मिरान्डालाई त्यो औषधि नै थियो कि थिएन भन्ने जानकारी छैन तर त्यो सेवन गर्ने बित्तिकै असर देखिएपछि औषधि नै हो भन्ने उनको अनुमान छ । अहिले कोभिड–१९ महामारीका सन्दर्भमा स्वास्थ्य विज्ञान नयाँ अध्ययनमा छ । एउटा यस्तो एन्टी भाइरल चक्कीको प्रयास भइरहेको छ जसले रोग लाग्ने बित्तिकै लक्षण कम गराउन र गम्भीर समस्या हुन रोकोस् ।

नर्थ क्यारोलिना युनिभर्सिटीमा कार्यरत भाइरोलोजिस्ट तिमोथी सेहानका अनुसार यस्ता औषधिले लक्षण देखिने बित्तिकै उपचार गर्ने मात्र होइन, घरभित्र एकबाट अर्कोलाई सर्ने सम्भावना पनि घटाउँछ । अहिले पनि कोभिड–१९ बाहेक अन्य केही रोगका लागि एन्टीभाइरल उपयोग हुने गरेको छ ।

हेपाटाइटिस सी र एचआईभी लगायतका रोग निवारणका लागि एन्टी भाइरल प्रयोग गरिन्छ । टमी फ्लु एउटा यस्तै एन्टी भाइरल औषधि हो जुन एन्फ्लाएन्जामा सिफारिस गरिन्छ । यसले चाँडो निको गराउँछ र अस्पताल भर्ना हुनुपर्ने सम्भावना घटाउँछ ।

मानिस र अन्य जनावरमा प्रयोग हुने एन्टी भाइरलले फरक किसिमले काम गर्ने गरेका छन् । यी सबैमा एउटा समानता छ । सबैले प्रतिरक्षा प्रणाली बलियो बनाउने र कमजोर सेलमा भाइरस प्रवेश गर्नबाट रोक्ने काम गर्छन् ।

भ्याक्सिनको उपलब्धतासँगै एन्टीभाइरल चक्कीका कारण आगामी वर्ष हामी सामान्य जीवनमा फर्कन सक्ने अनुमान गर्न सकिन्छ । धनी देशमा यो तत्काल उपलब्ध हुने भए पनि गरिब देशका लागि कति समय कुर्नुपर्छ भन्ने अनिश्चित हुन सक्छ ।

अमेरिकाको संक्रामक रोग तथा एलर्जी राष्ट्रिय प्रतिष्ठानको एड्स विभागका निर्देशक कार्ल डिफेनब्याचले ती एन्टी भाइरल कोभिड–१९ को विरुद्धमा क्लिनिकल ट्रायलमा रहेको तथा यसको सम्पूर्ण परिणाम फेब्रुअरी अन्तिमसम्ममा आउन सक्ने जनाएका छन् । अबको केही महिनामा यो चक्कीको उपयोगिताबारे भन्न सक्ने आधार तयार हुने उनको भनाइ छ ।

मर्क एन्ड कम्पनीले रिड्जेब्याक बायोथेरापेयुटिक्ससँग मिलेर तयार पारेको मोल्नुपिराभिर अहिले यो दौडमा सबैभन्दा अघि रहेको डिफेनब्याचले बताए । फाइजरको उत्पादन तथा रोक एन्ड एटेया फर्मास्यूटिकल्सको अर्को औषधि परीक्षणमा छन् ।

मोल्नुपिराभिरले भाइरसको संख्या बढ्ने रोकावट सिर्जना गर्छ । यसबाट भाइरल लोड कम हुने तथा मानिस गम्भीर बिरामी हुने र मर्ने अवस्थाबाट बचाउँछ । अहिलेसम्म कोभिडमा प्रयोग गरिएको एन्टीभाइरल औषधि राम्देसिभिर मात्र हो । गम्भीर अवस्थामा पुगेका बिरामीका लागि मात्र राम्देसिभिर प्रयोग हुने गरेको छ ।

राम्देसिभिरको परीक्षणमा पनि समावेश रहेका बेहान अहिले मोल्नुपिराभिरको अध्ययनमा पनि सरिक छन् । सुरुवातमा मुसामा गरिएको परीक्षण अनुसार संक्रमण हुने बित्तिकै औषधि सेवनले भाइरल लोड बढ्न नदिने र गम्भीर समस्या रोक्ने मानिएको हो । एमोरी विश्वविद्यालयले पत्ता लाएको यो सूत्र रिड्जेब्याक र मर्कले अनुशरण गरेका हुन् ।

गएको वसन्त ऋतुमा २०२ जनामा मोन्लुुपिराभिरको परीक्षण भएको थियो । उक्त परीक्षणले संक्रमणको दर तुरुन्त नियन्त्रणमा आएको देखिएको थियो । अस्पतालमा प्लेसोबो दिइएका र दैनिक आठ सय एमजी यो औषधि दिइएकोमा तीन दिनपछि भाइरल लोड हेरिएको थियो । औषधि दिइएकामा भाइरल लोड आठ गुणा कम थियो । यो औषधि सेवन गरेको पाँच दिनमा भाइरसको खास असर नरहेको पाइएको थियो ।

मर्कका प्रमुख कार्यकारी रोबर्ट डेभिसले यसै साताको अन्त्यसम्ममा तेस्रो चरणको ट्रायलको ठूलो परिणामको नतिजा प्राप्त हुने तथा नियामक संस्था खाद्य तथा औषधि प्रशासनले वर्षको अन्त्यसम्ममा आपतकालीन अनुमति दिने आशा गरेको बताए ।

अहिले धेरै पाइने र प्रयोग गरिने औषधि मोनोक्लोनल एन्टीबडी हो । कोभिड–१९ ले गम्भीर बिमारी भएका तथा अस्पतालमा भर्ना भएकाहरूमा मात्र यो विधि प्रयोग गरिन्छ । अमेरिकामा मोनोक्लोनल एन्टीबडिजको एक डोजका लागि २ हजार डलर पर्छ।

फाइजरले सेप्टेम्बरमा दोस्रो र तेस्रो चरणको परीक्षण सुरु गरेको छ । एटेयाले दोस्रो र तेस्रो चरणको परीक्षणको नतिजा यही वर्षको अन्त्यसम्ममा प्राप्त हुने जनाएको छ ।

डिफेनब्याचले कुनै पनि कम्पनीको नतिजा सकारात्मक भए अनुमति प्रदान गर्ने र तत्काल वितरण सुरु गर्ने जनाएका छन् । यसो भए लाखौँ अमेरिकीले आफू संक्रमित भएको पाँच या १० दिनसम्म यो चक्कीको सेवन गर्ने छन् ।

कोलम्बिया विश्वविद्यालयमा संक्रामक रोग तथा इम्युनोलोजी विशेषज्ञ डानियल ग्रिपिन अनुमति दिइएलगत्तै देशको सबै स्थानमा लैजाने र संक्रमण भएको पहिलो दिनदेखि नै प्रयोग गर्न दिनु उपयुक्त हुने बताएका छन् ।

अमेरिकी सरकारले यो औषधि उत्पादनलाई चासोपूर्वक हेरिरहेको छ । मोल्नुपिराभिरका लागि १ अर्ब २० करोड डलर छुट्याएको छ । यसले अनुमति पाए बाइडेन प्रशासनले त्यसै महिना ३ अर्ब २० करोड डलर थप रकम उपलब्ध गराउने पनि डिफेनब्याचको भनाइ छ ।

सेहाना विचारमा एन्टी भाइरल उत्पादनमा लामो समयदेखि लापरबाही गरेका कारण यो महामारी भयावह भएको हो । सन् २००३ मा सार्स भाइरसले मानिसलाई झस्काएको थियो ।

यसपछि सन् २०१२ मा साउदी अरेबियाबाट मर्स निस्कियो तर यसले व्यापक रूप नलिएपछि एन्टी भाइरल औषधि निर्माण पनि त्यसै सेलायो । सेहानका अनुसार यस्ता औषधि व्यापारिकरूपले घाटामा जाने भएकाले कसैले पनि चासो दिएनन् ।

अहिले धेरै पाइने र प्रयोग गरिने औषधि मोनोक्लोनल एन्टीबडी हो । कोभिड–१९ ले गम्भीर बिमारी भएका तथा अस्पतालमा भर्ना भएकाहरूमा मात्र यो विधि प्रयोग गरिन्छ । अमेरिकामा मोनोक्लोनल एन्टीबडिजको एक डोजका लागि २ हजार डलर पर्छ । बजारमा आउने नयाँ एन्टी भाइरलको मूल्य भने अहिले यकिन भइसकेको छैन ।

मोनोक्लोनल एन्टी बडिज जस्तै एन्टी भाइरल चक्की पनि भ्याक्सिनको विकल्प भने हुने छैनन् । भाइरससँग लड्न थप हतियार भने हुनेछ । यो परीक्षणको निगरानी गरिहेकी डा. एलिजाबेथ डुक पर्याप्त मात्रमा सहभागी पाउन कठिन हुनाले एन्टी भाइरल औषधिको परीक्षण सहज नभएको बताउँछिन् ।

परीक्षणमा सहभागी हुनेमध्ये कोरोनाको भ्याक्सिन नलगाएको तथा कोरोना पुष्टि भएको पाँच दिन भित्रको हुनुपर्छ । इन्टर्न गरिरहेका स्वास्थ्यकर्मीले कोभिड भएका सय जनासँग फोन सम्पर्क गर्दा सबैले परीक्षणमा सहभागी हुन अस्वीकार गरेका थिए ।

डा. डुकका अनुसार धेरै व्यक्तिले वैज्ञानिक प्रक्रियामाथि नै शङ्का गर्न थालेका छन् । त्यहाँ इन्टर्न गर्नेहरूलाई धेरैले फोनमा नै खिसी गरे । डा. ग्रिफिनका अनुसार एन्टी भाइरल प्रभावकारी पुष्टि भएपछिको अर्को चुनौती यसको वितरण हो । कोभिड भइसकेपछि जतिसक्दो छिटो यसको उपयोग भए प्रभावकारी हुनेछ ।

मर्क अधिकारीहरूले यो वर्षको अन्त्यमा एक करोड कोर्स उत्पादन हुने बताएका छन् । एटेया र फाइजरले यसको कुनै सम्भावित डाटा बाहिर ल्याएका छैनन् ।

प्राध्यापक ड्युक त एक पटक एन्टीभाइरल उपयोग गरेपछि लामो समय संक्रमण रोक्ने गरी तयारी भएको बताउँछन् । यो एन्टीभाइरलबाट नै कोरोना महामारीपछि जनजीवन सामान्य बन्ने अनुमान छ ।

डिसेम्बरमा यो महामारी सुरु भएको दुई वर्ष पुरा हुनेछ । भ्याक्सिनको उपलब्धतासँगै एन्टी भाइरल चक्कीका कारण आगामी वर्ष हामी सामान्य जीवनमा फर्कन सक्ने अनुमान गर्न सकिन्छ । धनी देशमा यो तत्काल उपलब्ध हुने भए पनि गरिब देशका लागि कति समय कुर्नु पर्छ भन्ने अनिश्चित हुन सक्छ ।

–एजेन्सीहरूको सहयोगमा