राजनीति

यसरी हुँदैछ एमाले विधान महाधिवेशनको तयारी

By खबरहब

September 29, 2021

काठमाडौँ– मुख्य विपक्षी तथा संघीय संसदमा सबैभन्दा ठूलो दल नेकपा एमाले विधान महाधिवेशनको अन्तिम तयारीमा छ । महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । एमालेले आयोजना गरेको यो प्रथम विधान महाधिवेशन हो ।

दुई वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल अलग भई नयाँ पार्टी दर्ता गराएपछि उत्पन्न फरक परिस्थितिमा एमालेको विधान महाधिवेशन हुन लागेको छ ।

प्रचार उपसमितिले मङ्गलबार सम्पादकहरूसँग आयोजना अन्तक्र्रिया कार्यक्रम दिइएको जानकारी अनुसार विधान महाधिवेशनमा पार्टी विधान संशोधन र नीतिगत विषयमा प्रतिनिधिहरूबीच छलफल र निर्णय हुनेछ ।

महाधिवेशन गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मलेन केन्द्रको सनराइज हलमा हुनेछ । निर्माणाधीन उक्त सम्मलेन केन्द्रको तयारी हलमा हुन लागेको यो पहिलो सभा हो । महाधिवेशनमा देशभरिका ५ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

अन्तक्रियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनले पार्टीको विधानमा छलफल गरेर संशोधन गर्ने बताए । एमाले लोकतन्त्रमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएकाले सोहीअनुसार विधानबारे छलफल हुने र निष्र्कष निकालिने उनले बताए । उनका अनुसार पार्टीको सिद्धान्त, गन्तव्य, नीति, कार्यक्रम, विषयगत वा आवधिक योजना, लक्ष्य आदिका बारे विधान महाधिवेशनमा छलफल हुनेछ ।

ओलीले महाधिवेशनमा समस्याको पहिचान, किटानी र समाधानको स्पष्ट दिशा निर्देश गर्ने बताए । राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता र लोकतन्त्रका विभिन्न पक्षमा छलफल हुने तथा लोकतन्त्र सुदृढ गर्ने दिशामा निर्णय हुने उनले बताए ।

ओलीका अनुसार एमालेको विधान महाधिवेशन देश र जनताको समस्या समाधानका प्रश्नहरूसँग जोडिएको छ । उनले भने, ‘यो पार्टी (नेकपा एमाले) यसो पार्टी खोलौँ न भनेर खोलिएको होइन ।’

विधान महाधिवेशनले संशोधन गरेको विधान र तय गरेको नीतिअनुसार दशौँ राष्ट्रिय महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ । राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा हुने भनिएको छ ।

जनताको बहुदलीय जनवाद (जबज) बारे सोधिएको एक प्रश्नमा अध्यक्ष ओलीले जबज आवश्यकता अनुसार परिमार्जित र विकसित हुँदै जाने बताए । उनले जबजको लक्ष्य भन्नु नै ‘समृद्ध नेपाल : सुखी नेपाली’ हो भने । परिपूर्ण लोकतन्त्र अर्थात कम्प्रिहेन्सिभ डेमोक्रेसीमा मात्रै समृद्धि हासिल हुने उनले बताए ।

महाधिवेशनमा हालसम्मकै धेरै प्रतिनिधिहरू जम्मा हुने भएकाले खाना, वास र स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएको प्रचार उपसमितिका प्रमुख खिमलाल भट्टराईले बताए । सहभागीहरूलाई मास्क अनिवार्य गरिएको छ । उनीहरूले स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ । अधिकांश प्रतिनिधिहरूले खोप लगाइसकेको र कोही नलगाएका भए खोपको प्रबन्ध हुने जनाइएको छ ।

गोदावरीसम्म पुग्न सातदोबाटोबाट सुविधाजनक बस व्यवस्था गरिएको जनाइएको छ ।