क्रिकेट

ईपीएलमा पोखराको पहिलो जित

By खबरहब

September 29, 2021

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राइनोजले पहिलो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा ७ ओभरमा छोट्याइएको खेलमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पोखराले ९ विकेटले हराएको हो ।

ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

पोखराको जितमा रिचार्ड लेभीले अविजित ३८ रन बनाए । यस्तै रित गौतमले १२ रन बनाउँदा साहन अराचिगे १ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो ।

ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए । ओशाडा फर्नान्डोले अविजित १० रन जोडेका थिए ।

जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अंक जोडेको छ ।