राजनीति

सञ्चार माध्यमप्रति ओलीको कटाक्ष

By खबरहब

September 29, 2021

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादक तथा सञ्चारमाध्यमहरूले वर्तमान सरकारलाई किन खबरदारी नगरेको भनेर आफूले नबुझेको भन्दै कटाक्ष गरेका छन् ।

आफू प्रधानमन्त्री रहँदा ओली सञ्चारमाध्यमप्रति नराकात्मक देखिन्थे । उनले सरकारले गरेको विकास पत्रकारहरूले नदेखेको र विरोधमात्रै गरेको आरोप लगाउने गरेका थिए । मङ्गलबार सम्पादकहरूसँग आयोजित अन्तक्रियामा उनले आफू प्र्रधानमन्त्री रहँदा सञ्चार माध्यमबाट सहयोग पाएको भन्दै धन्यवाद दिए । उनले आफूलाई खबरदारी गरेर गुन लगाउने सम्पादकहरुले वर्तमान सरकारलाई किन गुन नलगाएको भनेर प्रश्न गरे ।

‘मलाई सजग गराउनुभयो, सचेत गराउनुभयो, ती अमूल्य सुझाब थिए, खबरदारीले सचेत बनायो, धन्यवाद,’ उनले भने, ‘खबरदारी नभए लापरबाही हुँदोरहेछ, अहिलेको सरकारदलाई खबरदारी पुगेको छैन ।’

उनले आफूले अध्यादेश ल्याउँदा प्रतिगमन भयो भनेर विरोध भएको तर अहिले कोही पनि नबोलेको भन्दै असन्तुष्टि प्रकट गरे ।

ओलीले सञ्चार माध्यमले सबैलाई ‘तिमी’ लेख्ने गरेकोमा पनि असन्तोष प्रकट गरे । ‘तिमी’ लेखेको भनेर आपत्ति जनाउने नेता नै निम्नकोटीको गालीगलौजमा उत्रेको भनेर राखिएको एक जिज्ञासामा सञ्चारमाध्यमले नेपाली भाषामा रहेका आदरार्थी शब्दहरु छाडेर अङ्ग्रेजीको ‘यु’ नक्कल गरेको आरोप लगाए ।

उनले भने, ‘मलाई त तँ भने पनि हुन्छ, हाम्रो भाषिक श्रेष्ठता र समृद्धि बचाऔँ भन्ने कुरा हो, अङ्ग्रेजीको नक्कल गरेर हाम्रो सम्पन्नता नबिर्से हुन्थ्यो । यो (सबैलाई तिमी लेख्नु) नक्कल नै हो । साहित्य र सञ्चारमाध्यम फरक हो ।’

उनले भाषिक संयम र भाषिक मर्यादा सञ्चारमाध्यमले पनि ख्याल गर्नुपर्ने उनको भनाइ थियो ।

आफ्नो पार्टीले दशौँ महाधिवेशनबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने बताउँदै यस्तै प्रतिनिधित्वका लागि सञ्चार माध्यमलाई सुझाब दिए । कार्यक्रममा जम्मा भएका सञ्चारकर्मीमध्ये तीन जनामात्रै महिला देखेको भन्दै ओलीले आफूले आयोजना गर्ने यस्तै अर्को कार्यक्रममा ३३ प्रतिशत महिलाको उपस्थिति हेर्न चाहेको बताए ।