राजनीति

पार्टीको मौलिक सिद्धान्त जोगाउन नेतृत्व परिवर्तन आवश्यक : नेता सिंह

By खबरहब

September 29, 2021

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको मौलिक सिद्धान्त बचाई राख्न नेतृत्व परिवर्तन आवश्य रहेको बताएका छन् ।

बुधबार नेपाली कांग्रेस काठमाडौँ ३२ वडाका नवनिर्वाचित कांग्रेस पदाधिकारीलाइ बधाई दिन आयोजित कार्यक्रममा नेता सिंहले पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाइराख्न पनि नेतृत्व परिवर्तन जरुरी रहेको बताएका हुन् ।

उनले वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेको र यसले पार्टीको मौलिक सिद्धान्तलाई असर गरिरहेको आरोप लगाए ।

उनले पार्टी नेतृत्वले आगामी महाधिवेशन अलोकतान्त्रिक तवरले गर्ने प्रयास गरेको भन्दै आफूहरुले त्यसो हुन नदिने स्पष्ट पारे । पदका लागि तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले पार्टीलाई अप्ठ्यारोमा पारेको उनले बताए ।

उनले लोकतन्त्र र काँग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै पार्टी भित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी भएको बताए ।

आगामी महाधिवेशनमा नेतृत्वको विषयमा छलफल भइरहेको र आफू नेतृत्वको लागि तयार रहेको धारणा राखे । आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपर्न समेत उनले कार्यकर्तालाई आग्रह गरे ।