सांकेतिक तस्वीर ।

देश/प्रदेश

हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव उठेन

By खबरहब

October 29, 2021

संखुवासभा– विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव १० दिन बित्दासमेत उठ्न सकेको छैन ।

गत कात्तिक १० गते मकालु हिमाल आरोहणका क्रममा मकालु गाउँपालिका–२ आधार शिविरभन्दा माथि शेर्पानिकोलमा डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको थियो ।

डेनमार्क नागरिक थोर्वजन एडर्शनको शव शेर्पानिकोलमै रहेको टोलीका सदस्य तथा नेपाली गाइड नीरज कार्कीले जानकारी दिए । डेनमार्कका नागरिक थोर्वजन शव ६ हजार दुई सय मिटरको उचाइको शेर्पानिकोलमा हिउँले पुरिएका कारण शव निकाल्न समस्या भएको कार्कीले बताए ।

शव हेलिकप्टरमार्फत निकाल्न दुई पटक प्रयास गरे पनि हिउँका कारण नसकिएको कार्कीको भनाइ छ । बिहीबार हेलिकप्टरमार्फत घटनास्थल पुगे पनि प्रयास असफल भएको कार्कीले बताए ।

हिउँमा फसेका अन्य नौ जनाको हेलिकप्टरमार्फत उद्धार भइसकेको छ । गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए ।