रोचक/विचित्र संसार

ग्रीसमा भेटियो दुई करोड वर्ष पुरानो रुखको जीवाश्म, जहाँ हाम्रा बाँदर पुर्खा खेल्थे

By खबरहब

January 30, 2021

एजेन्सी– ग्रीसमा दुई करोड वर्ष पुरानो रुखको जीवाश्म भेटिएको छ । ग्रीसको लेसबोस टापुको जंगलमा सडक निर्माणका लागि खन्ने क्रममा यति पुरानो रुखको जीवाश्म भेटिएको हो ।

यो रुख यति पुरोना हो कि यसमा हाम्रा बाँदर पुर्खाहरु खेल्दथे । यो जीवाश्म दुई करोड वर्ष पहिले जीवित रहेको रुखको हो ।

ज्वालामुखीको लाभाले यो टापुलाई पुर्दा यो जीवाश्म जोगिएको वैज्ञानिकहरुले बताएका छन् ।

लेसबोस जंगल संग्रहालयका प्राध्यापक निकोस जौरोस भन्छन्, ‘यो रुख हाँगाहरुसहित, अझ रुख जस्तै आकारमा भेटिनु ज्यादै महत्वपूर्ण हो । यो जंगलमा अहिलेसम्म यति पुरानो रुख नभेटिएको अवस्थामा यो भेटिनु अनौठो हो ।’

‘जहाँसम्म मलाई थाहा छ यति पुरानो रुखको जीवाश्म संसारमा जहाँ भेटिए पनि दुर्लभ हो ।’ उनी भन्छन् ।

वैज्ञानिकहरुले करोडौँ वर्ष पुरानो रुखलाई जोडेर यसको प्रकार पत्ता लगाउने अपेक्षा गरेका छन् ।