क्रिकेट

दक्षिण अफ्रिकाका अश्वेत कप्तानको अग्नि परीक्षा

By मनोज घिमिरे

September 30, 2021

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) र ओमनमा १७ अक्टोबरदेखि नोभेम्बर १४ सम्म ‘टी ट्वान्टी’ विश्वकप क्रिकेट प्रतियोगितामा हुँदैछ ।

गत वर्ष नै हुने भनिएको यो प्रतियोगिता कोभिड–१९ महामारीका कारण एक वर्ष स्थगित भयो । भारतमा पनि आयोजनाको तयारी गरिएको भए पनि कोरोनाको तेस्रो लहरको जोखिमका कारण युएई र ओमानमा गर्ने निर्णय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले गरेको थियो ।

यस पटकको प्रतियोगिता दुई चरणमा आयोजना हुने छ । अन्तिम चरणमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिज छन् । यीसँग छनोट चरण पार गर्ने चार देश रहने छन् । छनोट चरणको समूह ‘ए’ मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड र श्रीलङ्का छन् । समूह ‘बी’ मा बङ्गलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । यी आठमध्ये चार टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । कुल १२ टोलीले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

यस पटक पनि लामो उतारचढाव रहेको दक्षिण अफ्रिकाको क्रिकेट टोलीप्रति धेरैको चासो छ । एक से एक प्रतिभाशाली खेलाडी रहेको दक्षिण अफ्रिकी क्रिकेटको साख केही वर्षयता खस्किएको छ ।

उक्त टोली आइसीसी ‘टी ट्वान्टी’ बरियतामा पाँचौँ स्थानमा छ, पछिल्ला पाँच शृङ्खलामध्ये तीन वटामा पराजित भएको छ । त्यसो त दक्षिण अफ्रिका धेरै प्रतिभाशाली खेलाडी भएको देश हो । परन्तु टिमको रूपमा राम्रो प्रदर्शन गर्न यो दशे असमर्थ रहेको छ ।

क्विन्टन डी कक, कासिगो रबाडा, टाब्रियाज साम्सी, रासी भान डेर डुसेन र डेभिड मिलर जस्ता प्रतिभाशाली खेलाडी टोलीमा छन् । हालसम्म विश्वकपको फाइनल प्रवेश गर्न नसकेको यो टोली यस पटक भने विगतको भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षमा छ ।

फाफ डु प्लेसिस, इम्रान ताहिर र क्रिस मोरिस विनाको यो टोलीले कस्तो प्रदर्शन गर्ला भन्ने धेरैको चासो रहेको छ । ताहिर र डु प्लेसिसले त अन्य सवै खाले क्रिकेटबाट संन्यास लिँदै ‘टी ट्वान्टी’ मात्र खेल्ने भनिसकेका थिए । यस विश्वकपमा सहभागी नहुने भएपछि यिनीहरूको अन्तर्राष्ट्रिय खेल जीवन सकिएको छ ।

दक्षिण अफ्रिकी टोली हालै शल्यक्रिया गराएका तेम्भा बभुमाको नेतृत्वमा रहेको छ । भर्खरै ‘टी ट्वान्टी’ अन्तर्राष्ट्रिय क्रिकेटमा अवसर पाएका बायाँहाते स्पिनर केशव महाराजले बभुमाको अनुपस्थितिमा टोलीको नेतृत्व गर्ने छन् । श्रीलङ्कासँगको शृङ्खलामा गरेको उत्कृष्ट प्रदर्शनका कारण उनीप्रति धेरैको अपेक्षा जागेको छ ।

महत्वपूर्ण अन्तर्राष्ट्रिय शृङ्खलामा कप्तानको रूपमा उनले गरेको प्रदर्शन उत्कृष्ट थियो । साथमा स्पिन बलर नभएको तथा स्पिन बलको राम्रो सामना गर्न सक्ने ब्याट्सम्यान नभएका कारण आलोचित दक्षिण अफ्रिकी क्रिकेटले यस पटक भने त्यो आरोपबाट मुक्ति पाउनेछ । महाराजको अलावा साम्सी र जोर्ज फर्च्युन तीन स्पिनर विशेषज्ञ बलरको रूपमा टोलीमा रहेका छन् ।

क्विन्टन डी कक, आइडन मकराम, हेनरिक क्लासेन र डेभिड मिलर अनुभवी ब्याट्सम्यानको रूपमा टोलीमा छन् । छनोट कमिटीका संयोजक भिक्टर पिटसाङ त घरमा ट्रफी ल्याउन योभन्दा उपयुक्त समय नै नभएको बताउँछन् । समूह ‘ए’ मा दक्षिण अफ्रिकासँगै अस्ट्रेलिया, इङ्ल्यान्ड र वेस्ट इन्डिज छन् । यसका साथै छनोट चरण पार गरेर आउने दुई टोली पनि यसै समूहमा रहनेछन् ।

विगतमा हसिम अमला र आइडन मकरामसँग प्रारम्भिक जोडीको रूपमा छाएका क्विन्टन डी ककका लागि यो विश्वकप निकै महत्वपूर्ण हुनेछ ।

बभुमाको अन्तर्राष्ट्रिय खेल जीवनको सुरुवात २०१४ को डिसेम्बरमा भएको थियो । सन् २०१६ मा उनी दक्षिण अफ्रिकाका लागि टेस्ट शतक प्रहार गर्ने पहिलो अश्वेत क्रिकेटर भए, ५ जुनमा इङ्ल्यान्ड विरुद्ध उनले शतक प्रहार गरेका थिए ।

सन् २०१६ मै उनले एक दिवसीय खेलमा डेब्यु गरे, २५ सेप्टेम्बरमा आयरल्यान्डविरुद्ध खेल्दै उनले एक दिवसीय डेब्यु गरेका थिए । उनले यस खेलमा शतक प्रहार गरे । त्यसै वर्षको नोभेम्बरमा उनले अस्ट्रेलियाविरुद्धको टेस्ट खेलमा विकेट लिएका थिए ।

सन् २०१९ को अगस्टमा भारतविरुद्ध भएको एक दिवसीय शृङ्खलामा उनी टोलीमा समावेश भए । तीन वटै स्टाइलको क्रिकेटमा टोलीमा परेपछि उनको आत्मविश्वास अझ बढेको थियो । सन् २०१९ सेप्टेम्बर १८ मा उनले भारतविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

यसै वर्षको मार्चमा कप्तान घोषित भएपछि उनी दक्षिण अफ्रिकी क्रिकेटको पहिलो अश्वेत कप्तान भए । सन् २०२३ को विश्वकपसम्मका लागि सीमित ओभरका खेलको कप्तान तोकिएका उनले यो जिम्मेवारी आफ्ना लागि एकदमै महत्वपूर्ण भएको बताएका थिए ।

तीस वर्षीय बभुमाले सन् २०१४ मा टेस्ट टोलीमा प्रवेश पाए पनि सीमित ओभरका लागि लामो समय पर्खनु परेन, चोटका कारण केही समय खेल दुनियाँभन्दा टाढा पनि रहे ।

कप्तानको निर्णय हुँदासम्म ६ वटा एक दिवसीय खेलमा उनले ५५.८३ को औसतमा रन प्रहार गरेका थिए । यसैगरी, आठ वटा ‘टी ट्वान्टी’ मा ३५.५७ को औसतमा १३३.१५ को स्ट्राइक रेटमा रन प्रहार गरेका थिए । टेस्टको उपकप्तान तथा घरेलु लिगमा फ्रेन्चाइज टिम लायनको नेतृत्व गरेका उनलाई कप्तानको दबाब कस्तो हुन्छ भन्ने पनि राम्रो महसुस भएको छ ।

दक्षिण अफ्रिकी खेलकुदमा अश्वेतले नेतृत्व गरेको घटना विरलै छ । सन् २०१८ मा सियो कोसल्सी रग्बी टोलीको कप्तान चयन भएका थिए । उनकै नेतृत्वमा दक्षिण अफ्रिकाले २०१९ को विश्वकप जितेको थियो ।

दक्षिण अफ्रिकाले बभुमालाई सीमित ओभरको खेलको कप्तान चयन गरेकै दिन डियन एल्गरलाई टेस्ट कप्तान चयन गरेको थियो । यो चयनसँगै क्विन्टन डी ककको कप्तानीको समय पनि सकिएको छ । सन् २०२० को फेब्रुअरीमा डी कक एक दिवसीय टोलीको कप्तान चयन गरिएका हुन् । सोही समय उनी अर्को व्यवस्था नभएसम्मका लागि टेस्ट टोलीको काम चलाउ कप्तान चयन गरिएका हुन् ।

पाकिस्तानसँगको टेस्टमा डी ककले अत्यधिक मानसिक दबाब परेका कारण केही समय आराम गर्न आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । दक्षिण अफ्रिकी क्रिकेट टोलीका निर्देशक ग्रेम स्मिथले कप्तानको दबाब आफूले महसुस गर्न सक्ने प्रतिक्रिया दिँदै तत्काल अर्को व्यवस्था गर्न आवश्यक रहेको जनाएका थिए । स्मिथले डी ककलाई कप्तानको जिम्मेवारीबाट हटाउँदा खुला भएर खेल्ने र थप राम्रो प्रदर्शनको आशा गर्न सकिने जनाएका थिए ।

दक्षिण अफ्रिकी खेलकुदको इतिहास पनि अजीवकै थियो । कतिसम्म भएको थियो भने सन् १९६४ को टोकियो ओलम्पिकमा दक्षिण अफ्रिकामा श्वेत र अश्वेतको भिन्नभिन्नै छनोट भएको थियो । ओलम्पिक भिलेजमा दक्षिण अफ्रिकाले श्वेत खेलाडीको साथमा अश्वेतलाई कहिल्यै राखेन । श्वेत खेलाडीलाई अश्वेतहरूसँग बोल्न र सँगै हिँड्न समेत रोकियो । यसकारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले दक्षिण अफ्रिकालाई प्रतिबन्ध लगाएको थियो ।

अश्वेतलाई टोलीमा नराख्ने नीतिका कारण सन् १९६० मा फुटबलको सर्वोच्च निकायले फिफाले दक्षिण अफ्रिकालाई प्रतिबन्ध लगाएको थियो । सन् १९७० मा आइसीसीले दक्षिण अफ्रिकी क्रिकेटलाई प्रतिबन्ध लगाएको थियो । सन् १९८१ मा अन्तर्राष्ट्रिय रग्बी बोर्डले पनि दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएको थियो ।

राजनीतिक परिवर्तनसँगै अश्वेतमाथिको भेदभाव हटाइयो, दक्षिण अफ्रिकोमाथि अन्तर्राष्ट्रिय समुदायले लगाएको सबै प्रतिबन्ध फुकुवा भए ।

प्रतिबन्ध फुकुवा भएर खुला भएको दक्षिण अफ्रिका खेल्नमात्र होइन खेल आयोजनाका लागि पनि तयार भएको थियो । सन् २०१० मा विश्वकप फुटबलको आयोजना गरिसकेको दक्षिण अफ्रिकाका लागि सबैभन्दा खुसीको क्षण सन् १९९४ को रग्बी विश्वकप जित्दाको थियो । घरेलु भूमिमा भएको विश्वकप जितेपछि आफ्ना प्रिय नेता नेल्सन मण्डेलाकै हातबाट ट्रफी लिनु दक्षिण अफ्रिकीका लागि इतिहासकै गौरवमय क्षण थियो ।

क्रिकेटमा दक्षिण अफ्रिकाको उपस्थिति भने फरक किसिमको रह्यो । सन् १९९० देखि राम्रो क्रिकेट टोलीको रूपमा छवि बनाएको दक्षिण अफ्रिका हरेक खालको विश्वकपमा असफल थियो । उपाधिको दाबेदारको रूपमा सहभागी हुने र उपाधि जित्न नसक्ने नियति दक्षिण अफ्रिकाले ९० को दशकमा भएका तीन वटै क्रिकेट विश्वकपमा भोगेको थियो ।

यसका साथै टोलीमा अश्वेत र श्वेतको सङ्ख्या मिलाउनु पर्ने दबाबमा यो देश रहेको थियो । खेलकुद र राजनीति दुवैको फरक इतिहास भएको यो देश अहिलेसम्म विश्वकप फाइनल प्रवेश गरेको छैन ।

अहिले दक्षिण अफ्रिकी अश्वेतका लागि समानताका मुद्दा उठाउन जरुरी छैन । एक अश्वेत कप्तानको नेतृत्वमा ‘टी ट्वान्टी’ विश्वकप जितेमा यो दक्षिण अफ्रिकाका लागि अझ अभूतपूर्व हुनेछ । –एजेन्सीहरूको सहयोगमा