राजनीति

संसदमा मर्यादित भूमिका खेल्न एमालेलाई सर्वदलीय बैठकको आग्रह (भिडियो)

By खबरहब

September 30, 2021

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद खुलाउन अग्रसरता लिएका छन् । बिहीबार प्रधानमन्त्री देउवाले संसद अवरोध लगायत वर्तमान राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । तर, सो बैठकमा एमाले भने अनुपस्थित रह्यो ।

बैठकमा एमाले अनुपस्थित भए पनि संसदमा रहेका अन्य दल उपस्थित रहेका थिए । बैठकले एमालेलाई संसदमा मर्यादित र सकरात्मक भूमिका खेल्न आग्रह गरेको छ । बैठकले एमालेलाई जिम्मेवार ढंगबाट अगाडि बढ्न आग्रह गरेको कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । तर एमाले सर्वदलीय बैठकमा सहभागी नहुनु दुःखद् भएको उनले बताए । उनले एमाले संवादबाट भाग्न खोजेको जस्तो देखिएको बताए ।

यसअघि सभामुखले बोलाएको बैठकमा पनि एमाले सहभागी नभएको र प्रधानमन्त्रीले बोलाएको बैठकमा पनि एमाले सहभागी नभएको भन्दै एमाले संवादबाट भागेको जस्तो बुझिएको उनको टिप्पणी छ ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।