मुम्बई(बीबीसी हिन्दी)– हिन्दी फिल्म उद्योग पहिलाको तुलनामा धेरै परिवर्तन भइसकेको छ । जसरी दर्शकको माग फेरिएको छ, त्यही किसिमले फिल्म निर्माणको प्रक्रियामा पनि परिवर्तन आइरहेको छ ।
पुरुष प्रधान हिन्दी फिल्म उद्योग अब फिल्ममा लैंगिक समानतातर्फ ढल्किरहेको छ । फिल्म अभिनेता शाहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगन, रणवीर कपूरजस्ता कलाकार फिल्म निर्माताका रुपमा अगाडि आएका छन् । तर अब अभिनेत्री पनि पछाडि छैनन् ।
आफ्नो अभिनयले फिल्म उद्योगमा स्थान बनाएकी अभिनेत्री अनुष्का शर्माले भाई कर्नेश शर्मासँग मिलेर क्लीन स्लेट फिल्मस नामक प्रोडक्सन हाउस खोलेकी छन् । जसमार्फत उनीहरुले ‘एनएच१०’, ‘परी’, ‘फिल्लौरी’ र ‘बुलबुल’ जस्ता फिल्म बनाए ।
अन्तर्राष्ट्रिय स्टार बनिसकेकी अभिनेत्री प्रियंका चोपडाले पर्पल पेबल्स पिक्चर्स नामको प्रोडक्सन खोलेर कैयौं हिन्दी र क्षेत्रीय फिल्म निर्माण गरिन् । जसमा मराठी फिल्म ‘भेन्टिलेटर’, नेपाली फिल्म ‘पाहुना’ र वर्षको सुरुवातमा ओटीटीमा रिलिज भएको फिल्म ‘ह्वाइट टाइगर’ छन् ।
आफ्नो अभिनयले सबैलाई ‘फिदा’ बनाएकी अभिनेत्री दीपिका पादुकोणले फिल्म निर्माणमा का प्रोडक्सनबाट पाइला चालिन् र फिल्म ‘छपाक’ बनाइन् । अभिनेत्री आलिया भट्ट, तापसी पन्नु, कंगना रनावत, करीना कपूरले पनि आफू निर्माता बन्ने घोषणा गरिसकेका छन् ।
यो ट्रेण्डलाई सकारात्मक रुपले हेरेका इतिहासकार एस एम एम औसजा अभिनेत्रीले आफूलाई अभिनेता सरह समान बनाइरहेको बताउछन् । यद्यपि फिल्म निर्माणमा हिस्सेदारीको ट्रेड अभिनेताले सुरुवात गरेका थिए । यो सकारात्मक कदम हो ।
फिल्मको व्यापारबारे जानकार अतुल मोहन भन्छन्, ‘आजको कलाकारको पीढि निकै चतुर छन् । उनीहरु पैसा कसरी बनाउन सकिन्छ भनेर भविष्यको बारेमा निरन्तर सोचिरहेका छन् । जस्तै कलाकारलाई उनीहरु कसरी सुरक्षित बनाउन सकिन्छ ।’
‘पहिला फिल्म बन्थ्यो, जुन सिनेमा घरहरुमा मात्र रिलिज हुन्थ्यो र टेलिभिजनमा दुरदर्शनमा मात्र प्रदर्शन हुन्थ्यो । विगत १० वर्षमा धेरै परिवर्तन भएको छ । फिल्मको कमाईको आँकडा बढेको छ । सय करोडदेखि ३ सय करोड भएको छ । सेटलाइटबाट पैसा पाइरहेका छन्, डिजिटलबाट पैसा लिइरहेका छन् । अडियोबाट पैसा मिलिरहेको छ । ओभरसिज फिल्म कारोबारबाट पैसा आइरहेको छ । यी सबै कारणबाट पैसा कमाउन सकिन्छ । योसँगै आइपीआर(इन्टेलेक्चुअल प्रोपर्टी राइट्स) पनि छ । भविष्यमा पैसा कमाउनको धेरै ठूलो माध्यम बनिरहेको छ,’ अतुल भन्छन् ।
उनका अनुसार जसरी राजेश खन्ना र अमिताभ बच्चनले ठूला निर्देशक जस्तै यश चोपडाका साथ मिलेर फिल्म बनाए । अमिताभ उच्च स्थानमा पुग्दा उनले वितरणको काम पनि सुरु गरे । जसमा ‘अमर अकबर एन्थनी’, ‘नसिब’ जस्ता फिल्म पर्दछन् । उनको अर्को पुस्ता शाहरुख खानले फिल्म स्टुडियो सञ्चालन गरे । अभिनेताहरुलाई देखेर अभिनेत्रीहरुले पनि फिल्म निर्माणमा पैसा छ भन्ने महशुस गरे । उनीहरुले फिल्म निर्माणमा साझेदारीको माग नै गरे ।
आजको दिनमा अभिनेत्रीहरु केवल अभिनेताको वरपरको कथाको हिस्सा छैनन् । उनीहरु फिल्ममा प्रमुख भूमिकामा देखिइरहेका छन् । यस्ता कैयौं कथामा अभिनेत्रीहरुले आफ्नो अभिनयको दबदबा देखाएका छन् । अनुष्काको फिल्म ‘एनएच१०’ होस् या दीपिकाको ‘छपाक’ नै किन नहोस् ।
‘आजकल अभिनय देखाउनका लागि कैयौं अनौठा विषयमा फिल्म बनिरहेको छ । यस्ता कैयौं कथा छन्, जसमा निर्माता भेटिदैनन् र यदि कोही ठूला अभिनेता वा अभिनेत्री यस्ता कथामा फिल्म बनाउन चाहन्छन्, त्यो बेला ठूला स्टुडियोले सहयोग गर्छन् । जस्तै एरोजले अनुष्काको फिल्मलाई र फक्स स्टुडियो इण्डियाले दीपिकाको फिल्मलाई साथ दियो ।
फिल्म स्टुडियो फिल्म निर्माणको हरेक विभागमा सहयोग गर्छ । जसमा प्रोडक्सनदेखि लिएर मार्केटिङ र रिलिज सबै जोडिएका छन् ।
‘उनीहरुलाई आफ्नो किसिमको फिल्म बनाउने चाहना हुन्छ । जसरी भूमिकाका प्रति आकर्षण हुन्छ, जुन उनीहरुले पाइरहेका हुँदैनन् । त्यसमा निर्माताले यस्ता विषय छनोट गर्छन् । जसकारण उनीहरुको आइपीआर जिन्दगीभरका लागि सुरक्षित हुन्छ । जुन उनीहरुको सम्पति बन्छ । जसलाई हरेक पाँच–सात वर्षमा मोनेटाइज गर्न सकिन्छ र विभिन्न प्लेटफर्ममा प्रदर्शन गर्न सकिन्छ’, अतुलले भनेका छन् ।
अतुलको बुझाईमा स्टार निर्माता हुनासाथ फिल्मको लागतमा कम हुँदैन । किनकी स्टार आफ्नो मार्केट मूल्यलाई आफ्नो फिल्ममा पनि प्रयोग गर्छन् । उनीहरुले फिल्म थिएटरमा रिलिज भयो भने उनीहरुको पारिश्रमिक कति हुने भन्ने आफैं निर्धारण गर्छन् । उनीहरुको फिल्म थिएटर भन्दा ओटीटीमा रिलिज भयो भने पारिश्रमिक थिएटरको भन्दा बढी असुल्छन् ।
हिन्दी फिल्म उद्योगको सुरुवाती समयमा कैयौं यस्ता सशक्त अभिनेत्रीहरु थिए, जसले फिल्म निर्माणको हरेक कमाण्ड सम्हाले । इतिहासकार अमृत गंगरले यस्ता सशक्त अभिनेत्रीहरुबारे व्याख्या गरेका छन् ।
फातिमा बेगमले आफ्नो करियर उर्दू मञ्चबाट सुरु गरिन् । त्यसपछि आर्देशिर इरानीको ‘वीर अभिमन्यु’ फिल्मबाट फिल्ममा पाइला चालिन् । इरानीले इम्पीरियल फिल्म कम्पनी स्थापना गरे । जसले सन् १९३१ मा भारतको पहिलो साउण्ड फिल्म ‘आलम नारा’ निर्माण गर्यो । यो फिल्ममा फातिमाकी छोरी जुबैदा, सुल्ताना र शहजादीले अभिनय गरे ।
सन् १९२६ मा फातिमाले फात्मा फिल्मस नामक प्रोडक्सन हाउस स्थापना गरिन् र सन् १९२८ मा विक्टोरिया–फातिमा फिल्म पनि सुरुवात गरिन् । फातिमा बहुमुखी प्रतिभाशाली महिला थिइन्, जसले कोहिनूर र इम्पीरियल स्टुडियो जस्ता ठूला स्टुडियोको फिल्ममा अभिनयसँगसँगै आफ्नो प्रोडक्सनबाट फिल्म निर्माण पनि गरिन् । जसमा उनी स्क्रिप्ट लेखन र निर्देशनसँगै अभिनय पनि गर्थिन् ।
सन् १९३० को दशकमा उनले अभिनय जारी राखिन् । उनी हिन्दी फिल्मको सुरुवाती समयका महान निर्देशक नानुभाई वकील र होमी मास्टरसँग काम गर्थिन् । अभिनेत्री जुबैदाले निर्देशक नानूभाई वकीलसँग मिलेर सन् १९३४ मा महालक्ष्मी सिनेटोन कम्पनी खोलिन् । उनी सन् १९३० को दशकको अन्त्यसम्म फिल्म जगतबाट बिदा भइन् ।
उनले आफ्नो करियरमा नवल गान्धीको कैयौं सामाजिक फिल्ममा परम्परागत आयामको छवि विकसित गरिने । जसमा रविन्द्रनाथ टेगोरको प्रतिष्ठित नाटकमा आधारित फिल्म ‘बलिदान’ पर्दछ ।
जद्दनबाई सन् १९३० को दशकमा हिन्दी फिल्मको प्रतिभाशाली अभिनेत्री थिइन् । उनले सन् १८९२ मा इलाहबादमा जन्मिइन् र सन् १९४९ मा मुम्बईमा उनको निधन भयो । सन् १९३२ मा उनी लाहोरको प्लेआर्ट फोटो टोन स्टुडियोसँग जोडिइन् र चार वर्षपछि उनले संगीत फिल्मस नामक कम्पनी स्थापना गरिन् ।
सन् १९३३ देखि १९३५ सम्म उनले कैयौं फिल्ममा अभिनयसँगै गीत पनि गाइन् । जसमा ‘इन्सान या शैतान’, ‘राजा गोपीचन्द’, ‘सेवा सदन’, ‘तलाश–ए–हक’, परीक्षा र ‘नाचवाली’ पर्छन् ।
उनले हिन्दी र पञ्जाबी फिल्ममा गति गाइन् । दुई फिल्मको उनी संगीतकार पनि हुन् । सन् १९४८ मा रिलिज फिल्म ‘अंजुमन’को स्क्रिप्ट पनि उनैले लेखेकी थिइन् । प्रतिभावानी जद्दनबाईले गायिका, संगीतकार, नर्तकी, अभिनेत्री, निर्देशक र निर्माताका रुपमा आफ्नो पहिचान बनाइन् ।
उनी प्रख्यात अभिनेत्री नरगिसकी आमा थिइन् । अमृत गंगरका अनुसार यस्तो प्रतिभावान महिला आजको समयमा अभिनेत्रीहरुमा पाउन कठिन छ ।
कानन देवी, भारतीय फिल्मको एक प्रभावशाली महिला थिइन् । उनको हिन्दी र बंगाली फिल्ममा योगदान रह्यो । साइलेन्ट युगबाट अभिनयको सुरुवात गरेकी काननले सन् १९४९ मा श्रीमति पिक्चर्सबाट फिल्म निर्माणको काम सुरुवात गरिन् । अनन्या फिल्मबाट उनले सव्यसाची कलेक्टिभ सार्वजनिक गरिन् ।
उनले करिब ११ फिल्म निर्माण गरिन् । आफ्ना कैयौं चर्चित फिल्ममा उनी गायिका पनि भइन् । के एल सहगलसँग सन् १९३८ मा बनेको फिल्म ‘साथी’, ‘स्ट्रीट’, ‘सिंगर’, १९४१ मा बनेको फिल्म ‘लगान’ र ‘परिचय’ यस्ता फिल्म थिए ।
हिन्दी फिल्मको सुरुवाती समयमा कैयौं अभिनेत्रीहरु निर्मत ाबनेर अनेकौं विषयमा आफ्नो राय राखे । तर समयसँगै उनीहरुको संख्यामा गिरावट आयो । इतिहासकार अमृत गंगर यसमा समाजमा बढ्दो पितृसत्तात्मकतालाई प्रमुख कारण मान्छन् ।
‘सन् १९६० पछि समाजमा पितृसत्तात्मकता र रुढीवादी बढ्यो र सँगै धार्मिक, सामाजिक र पारिवारिक परम्परालाई तोड्न पनि डराए’, उनी भन्छन् ।
२१ औं शताब्दीको हिन्दी फिल्मका अभिनेत्रीहरु समयको परिवर्तनसँगै कैयौं यस्ता विषयका फिल्मका हिस्सा बने, जसले समाजमा एक संवाद छेडेको छ र दर्शकलाई थिएटरमा बोलाएर कमाई पनि गरेको छ ।