राजनीति

एमाले विधान महाधिवेशन :  प्रतिनिधिले बेलुकाको खाना आफै व्यवस्था गर्नुपर्ने

By खबरहब

September 30, 2021

काठमाडौँ– शुक्रबारदेखि ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको छ ।

स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले शुक्रबार सवा १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । महाधिवेशन व्यवस्थापन समितिका संयोजक थापाले पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरु मञ्चमा बस्ने उल्लेख गर्दै मुल हलमा ३ हजार प्रतिनिधि रहने जानकारी दिए ।

दायाँ बायाँको हलमा एकएक हजार प्रतिनिधि बस्नेछन् भने दुवै हलको प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर एकएक हजार क्षमताका हल बनाइएको छ । सबै गरेर ७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले बताए ।

सहभागीहरुलाई विहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको छ । हरेक दिन विहान ९ देखि ११ बजेसम्म खाना खाने समय छुट्याइएको छ भने खाजा प्याकेटमा दिइनेछ ।