फाइल फोटो

राजनीति

प्रधानमन्त्री देउवा आज र भोलि लण्डनमै व्यस्त रहने

By खबरहब

October 30, 2021

लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवा आज र भोलि विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने भएका छन् ।

देउवाले लण्डनको स्थानीय समयानुसार शनिबार बिहान बेलायतको दुवै सदनका केही सांसदहरु तथा पूर्वरक्षामन्त्री लर्ड लनकास्टरले भेट्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दिउँसो बेलायत-नेपाल समाजका प्रतिनिधि र बेलायत-नेपाल गैरसरकारी संस्था मञ्चका विशिष्ट व्यक्ति, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी, बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिलगायतले भेट्ने कार्यक्रम छ । आजै साँझ उनले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले आयोजना गने स्वागत कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

आइतबार बिहान प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलसँग भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिले भेट्ने र त्यसपछि देउवाकै सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । आइतबार साँझ भने उनी स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो प्रस्थान गर्नेछन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार राति लण्डन पुगेका हुन् ।