बलिउड/हलिउड

‘निमकी मुखिया’ अभिनेता विजय पक्राउ

By खबरहब

October 30, 2021

पटना(अमर उजाला)– भारतीय टेलिफिल्म ‘निमकी मुखिया’मा तेतर सिंहको भूमिका निभाउने अभिनेता विजय कुमारलाई पटना प्रहरीले पक्राउ गरेको छ । विजयकी पहिलो पत्नी निलिमा कुमारीले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले विजयलाई नौबतपुरबाट शुक्रबार पक्राउ गरेको हो । अभिनेतालाई महिला थानामा सोधपुछ भइरहेको छ । विजयमाथि दाइजो उत्पीडन र पत्नी हुँदाहुँदै दोस्रो विवाह गरेको आरोप छ ।

बिहार पञ्चायत चुनावमा विजयका भाई विनयकुमार मुखिया पदको उम्मेद्वार थिए । विजय भाईको प्रचारप्रसार गर्नका लागि आएका थिए । विजय आउने खबर थाहा पाएपछि उनकी पहिलो श्रीमति प्रहरी लिएर पुगेकी थिइन् ।

विजयका छोराका अनुसार उनको पिताले आमामाथि धेरै ज्यादती गरेका थिए । उनले आमा छोरालाई घरखर्च पनि दिँदैन थिए । उनकी आमाले ट्युसन पढाएर उनको र भाईको हेरविचार गर्छिन् ।

मुम्बईमा बस्दै आएका विजयले सन् २०१६ मा अभिनेत्री गीता त्यागीसँग विवाह गरेका थिए । गीताबाट उनको दुई सन्तान छन् ।