समाचार

एनसेल वर्ल्ड कम्युनिकेसन अवार्डका दुई विधाबाट सम्मानित

By खबरहब

October 30, 2021

काठमाडौँ– एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ का दुई विधा ‘द सोसल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ जित्न सफल भएको छ ।

यही कात्तिक ९ (अक्टोबर २६) मा आयोजना भएको टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्रममा अवार्ड घोषणा भएको थियो ।

सन् १९९९ मा सुरु भएको ‘वर्ल्ड कम्युनिकेसन अवार्ड’ ले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा कम्पनीहरूलाई सम्मान गर्छ ।

यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक–सामाजिक जिम्मेवारीअन्तर्गत समाजमा पुर्‍याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात विपद प्रतिकार्यअन्तर्गत कोभिड महामारी, बाढी र भूकम्पजस्ता विभिन्न विपद तथा संकटको समयमा गरेका योगदानहरूको सराहना गर्दछ ।

एनसेलाई स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलहरू मार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्‍याउदै सरकारलाई दिगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्‍याए बापत ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ प्रदान गरिएको जनाइको छ ।

यस्तै, कोभिड–१९ महामारी, २०७२ को भूकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई गरेको सहयोगको कदरमा एनसेले ‘क्राइसिस रेस्पोन्स अवार्ड’ पाप्त गरेको हो ।

वर्ल्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्षदेखि राखिएको हो ।

प्रतिष्ठित वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१ अन्तर्गत दुई महत्वपूर्ण विधामा अवार्ड जित्न सफल भएकोमा हर्षित छौँ एनसेलले एक विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सामाजिक पहलहरूको प्रभावकारी योगदान र विपदको समयमा सरकार र नेपाली जनसमुदायहरूलाई पुर्‍याएको सहयोग र योगदानको कदर हो ।’

यस उपलव्धिमा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले आफ्ना कर्मचारीहरूलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन्छु ।’

‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ विधाको पुरस्कारका एनसेल आजियाटा नेपालसहित पाँच कम्पनी सूचीकृत भएका थिए ।

त्यस्तै, क्राइसिस रेस्पोन्स अवार्डको लागि एनसेल आजियाटा सहित ६ वटा कम्पनी सूचीकृत भएका थिए ।

एनसेलले हालै सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड’ को बाह्रौँ संस्करणमा ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ जितेको थियो ।

इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, वर्ल्ड एचआरडी कङ्ग्रेस र स्टार अफ द इन्डस्ट्री गु्रपले एसियामा रहेका विभिन्न कम्पनीहरूलाई मार्केटिङ कम्युनिकेसन्सको माध्यमबाट प्रतिभाहरूलाई आकर्षित गर्न, विकास गर्न र त्यस्ता प्रतिभालाई आफैसँग राख्न सफल कम्पनीहरूलाई सम्मान गर्दछ ।

यसका साथै एनसेल र डायलग आजियाटा अन्य पार्टनरहरूका साथ हालैमात्र सस्टेनेबिलिटी लिडरसिपका लागि ‘टीएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ जित्न सफल भएका थिए ।

टीएम फोरम क्याटलिस्ट अवार्डले विभिन्न उत्कृष्ट सोलुसन्सहरूको विकास गर्ने विश्वका अग्रणी कम्पनीहरूलाई सम्मान गर्दछ । सस्टेनेबिलिटी लिडरसिप अन्तर्गतको यो सम्मान दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि ठूलो सम्भावनाहरू बोकेको त्यस्ता प्रोजेक्टहरूलाई दिइन्छ ।

गत असोजमा पनि एनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ को दुई विधामा पुरस्कार जितेको थियो ।

एनसेलले ‘मस्ट सोसल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्डबाट सम्मानित भएका थिए ।

लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ ।