राजनीति

प्रधानन्यायाधीश जबराको हठको बन्दी बन्दैछ न्यायालय

By गोविन्द लुइँटेल

October 31, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि राजीनामाका लागि चौतर्फी दबाब बढ्दै गए पनि उनी राजीनामा नगर्ने अडानबाट टसमस भएका छैनन् ।

सर्वोच्च अदालतमा सहकर्मी न्यायाधीशहरूबाट र बारबाट संस्थागतरूपमा बहिष्कृत हुँदा पनि उनले आफू संवैधानिक प्रक्रियाबाट मात्र हट्ने जिकिर गर्दै महाभियोग लगाउन राजनीतिक दलहरूलाई चुनौती दिएका छन् ।

यस विषयमा सत्तारूढ गठबन्धन मौन छ । विपक्षी नेकपा एमालेका नेताहरूले प्रधानन्यायाधीश राणाको पक्षपोषण गरेका छन् ।

सत्तारूढ गठबन्धनको एक घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीशमाथि लागेका आरोपबारे सत्तारूढ गठबन्धनले चाँडै धारणा सार्वजनिक गर्ने भनेका छन् तर कुनै ठोस धारणा बाहिर आएको छैन ।

अर्को घटक नेकपा (एकीकृत समाजवादी) मौन रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा देशबाहिर छन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामा गर्न अल्टिमेटम दिएर विरोध प्रदर्शन सुरु गरेको छ । कानून व्यवसायीहरू पाखुरामा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा जम्मा भएका छन् ।

विरोध र बहिस्कारका बाबजुद प्रधानन्यायाधीश जबराले १२ वटा इजलासमा २४८ वटा मुद्दाको पेसी तोकेका छन् ।

उनले आफ्नो एकल इजलासमा दुई वटा र आफू र न्यायाधीश कुमार रेग्मी समेतको संयुक्त इजलासमा १४ वटा मुद्दाको पेशी तोकेका छन् ।

पेशी तोके पनि न्यायाधीशहरूले बहिष्कार जारी राखेका छन् । नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म विरोध प्रदर्शन जारी रहने जनाएको छ ।

प्रधानन्यायाधीश जबरा विवाद समाधान गर्ने वा राजीनामा गरेर नयाँ नेतृत्वका लागि बाटो खुला गर्नुको साटो अन्तर्वार्तामार्फत आफ्नो प्रतिरक्षामा लागेका छन् ।

हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले आफूमाथि लागेका सबै आरोपहरू झुटा भएको जिकिर गरे । उनका सहकर्मी न्यायाधीशहरू र संस्थागतरूपमा नेपाल बार उनको जिकिर मान्न तयार छैनन् ।

प्रधानन्यायाधीश जबरामाथिका आरोपहरूमध्ये एक हो सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद घटाउने फैसला पुनरावलोकनमा बेवास्ता । पत्नीहत्याको आरोपमा कोइरालालाई सर्वस्वसहित जन्मकैद भएको थियो ।

काठमाडौँ जिल्ला अदालतले २०७१ वैशाख ७ गते कोइरालालाई सर्वस्वसहित जन्मकैद हुने फैसला सुनाएको थियो ।

तत्कालीन पाटन उच्च अदालतले पनि सोही फैसला सदर गरेको थियो ।

प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद घटाएर साढे आठ वर्ष कायम गरिदिएको थियो । लगत्तै कोइराला रिहा भएका थिए ।

उक्त फैसला भएकै दिन, २०७७ साउन ८ गते, महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दिएको थियो ।

त्यसको चौथो दिन, साउन ११ गते, न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको संयुक्त इजलासले फैसला पुनरावलोकन गर्न अनुमति दिएको थियो ।

पुनरावलोकनको अनुमति पाएको १५ महिना पूरा भएको छ तर इजलास तोकिएको छैन । कोइरालाले २०६८ पुस अन्तिम साता पत्नी गीता ढकालको हत्या गरेर मकवानपुरको पालुङमा जलाएको पुष्टि भएको थियो ।

प्रधानन्यायाधीश जबराले उनी आफूसमेतको इजलासले गरेको फैसला पुनरावलोकन गर्न १५ महिनासम्म पेसी नतोक्नुको कारण के हो भन्ने प्रश्न उठेको छ । यसमा उनी मौन छन् ।

प्रधानन्यायाधीश जबराले नियतबस उक्त फैसला पुनरावलोकन नगराएको आरोप छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गराएर संवैधानिक नियुक्तिहरू गराए । अध्यादेशअनुसारको संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश जबरा पनि सहभागी थिए ।

उक्त अध्यादेश र नियुक्तिविरुद्ध रिटहरू परेका छन् । अध्यादेश विरुद्धको रिट संवैधानिक इजलासमा र नियुक्ति विरुद्धको रिट डिभिजन बेन्चमा छन् ।

प्रधानन्यायाधीशसमेतका विरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश संलग्न संवैधानिक इजलासमा हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ ।

यस्तो प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले आफूविरुद्धको रिटमा संवैधानिक इजलासबाट अलग रहने घोषणा गरे ।

संविधानमा संवैधानिक इजलास प्रधानन्यायाशीधको अध्यक्षतामा रहने प्रावधान रहेकाले उनी अलग हुन नमिल्ने जिकिरसहित परेको रिटमा न्यायाधीश हरि फुयालले उक्त प्रश्न निरूपण हुनुपर्ने आदेश दिए ।

प्रधानन्यायाधीश राणाले भने यो प्रश्न पनि निरूपण गराउन सकेका छैनन् ।

संवैधानिक नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट डिभिजन बेन्चमा छ तर निरूपणका लागि अघि बढ्न सकेको छैन ।

नियुक्ति सम्बन्धी संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश जबरा सहभागी थिए । उनले नियुक्ति संवैधानिक हो भन्ने लिखित जवाफ बुझाएका छन् । यसपछि उक्त रिटको पेशी तोकिएको छैन ।

प्रधानन्यायाधीश राणामाथि बेन्च सपिङको अरोप पनि लागेको छ । कुनै एक पक्षको अनुकूल फैसला गराउने उद्देश्यले पेशी तोक्ने गरेको आरोप छ । न्यायालयमा सुधारका कुनै पनि काम गर्न नसकेको आरोप पनि छ । समग्रमा न्यायालयमा बेथिति, विसङ्गति र भ्रष्टाचार बढाएको आरोप छ ।

नेपाल बार एसोसिएनले नै यस्ता आरोप लगाएको छ ।

न्यायालयमा सुधारका लागि गठित कार्यदलले दिएको सुझाब प्रधानन्यायाधीशले बेवास्ता गरिदिएका छन् ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको भन्ने कुरा चुहिएपछि उनी चरम विवादमा परेका हुन् । भाग खोजेको भन्ने आरोप पुष्टि हुने गरी उनका नातेदार गैरसांसद मन्त्री नियुक्त भएपछि प्रधानन्यायाधीश जबराको राजीनामाको विवाद चर्केको हो ।

नियुक्तिअघि उनले उक्त आरोपको खण्डन गरेका भए पनि नियुक्तिले उनको खण्डन झुटो सावित गरिदिएको छ ।

एक सातादेखि प्रधानन्यायाधीश राणा एक्लिएका छन् । सबै न्यायाधीशहरूले इजलास बहिस्कार गरेका छन् । नेपाल बार एसोसिएसन जबराको राजीनामा मागेर विरोध प्रदर्शनमा उत्रेको छ ।

चार जना पूर्वप्रधानन्यायाधीशहरूले पनि राजीनामा गरेर निकास दिन जबरालाई सार्वजनिकरूपमा सुझाब दिएका छन् । जबराले आफ्ना पूर्ववर्तीहरूको सुझाबको प्रतिवाद गर्दै आफूले तीन करोड जनताको प्रतिनिधित्व गरेको जिकिर गरेका छन् । यसक्रममा उनले सुझाब दिने पूर्वप्रधानन्यायाधीशहरूबारे व्यक्तिगत टिप्पणी पनि गरेका छन् ।

प्रधानन्यायाधीश जबराले महाभियोग सामना गर्ने तर राजीनामा नगर्ने अडान राखेका छन् । प्रतिनिधिसभाको वर्तमान दलीय संरचना र दलहरूको दाउपेचमा आफूमाथि महाभियोग सम्भव छैन भन्ने धारणाका आधारमा उनले महाभियोगको चुनौती दिएको उनका विपक्षीहरूको आरोप छ ।

उनले आफू संविधान बमोजिम प्रधानन्यायाधीश नियुक्त भएकाले सोही बमोजिम हट्ने भन्दै महाभियोगको चुनौती दिँदा कुनै कारणले राजीनामा गर्नु पनि संवैधानिक प्रावधान नै हो भन्ने तथ्य बेवास्ता गरेका छन् ।

आफूबाहेकका सबै न्यायाधीश र सिङ्गो नेपाल बार विरोधमा उत्रेको घटनालाई उनले ख्यालख्याल ठानेको देखिएको छ ।

राजीनामाका लागि चौतर्फी दबाबका बाबजुद मुलुकको सर्वोच्च न्यायिक निकाय प्रधानन्यायाधीश जबराको हठको बन्दी बनेको छ । परिणामस्वरूप न्यायालय अनिश्चितताको भुमरीका परेको छ ।