आर्थिक

‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र स्टक एक्सचेन्जमा सूचीकृत

By खबरहब

October 31, 2021

काठमाडौँ– ज्योति विकास बैंकद्वारा निष्काशित १ एक अर्ब ५० कोड रुपैयाँ बराबरको ‘९ प्रतिशत ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ ।

आइतबार एक कार्यक्रमबीच उक्त ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरे ।

बैकद्वारा आइतबार जारी विज्ञप्तिअनुसार सम्झौतापछि उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार सुरु हुने जनाइको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार बैंकले एक हजार रुपैयाँ अंकित दरका १५ लाख कित्ताले हुन आउने ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गरेको थियो ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर र ६१ वटा एटीएममार्फत सेवा दिइरहेको छ।