क्रिकेट

नामिबियामाथि अफगानिस्तानको फराकिलो जित

By खबरहब

October 31, 2021

काठमाडौँ– आईसीसी टी–ट्वान्टी विश्वकप सुपर १२ अन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले नामिबियालाई ६२ रनले पराजित गरेको छ । समूह २ को यो खेलमाजित हात पारेसँगै अफगानिस्तानले अंक तालिकामा ४ अंक जोडेको छ।

अफगानिस्तानले दुई खेलमा जित हात पारेको छ । यसअघि अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

अबुधावीमा भएको खेलमा १ सय ६१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल ९८ रनमा सीमित भयो ।

नामिबियाका लागि डेभिड विजेले सर्वाधिक २६ रनको योगदान दिए ।

नामिबियालाई सस्तैमा समेट्न अफगानिस्तानका हमिद हसन र नविन–उल–हकले समान ३–३ विकेट हात पारे ।

गुलबदिन नइवले दुई विकेट लिए तथा राशिद खानले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गमाएर १ सय ६० रन बनाएको थियो ।

मोहमद सहजादले ४५, हजरातुल्लाह जजाईले ३३, कप्तान मोहमद नावीले ३२ र अस्गर अफगानले ३१ रनको योगदान गरे । अफगानको यो अन्तिम खेल हो । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट आइतबार नै सन्यास घोषणा गरेका छन् ।