अवैध औषधिसहित दुईजना चिनियाँ नागरिक पक्राउ

By खबरहब

October 31, 2021

संखुवासभा– संखुवासभामा अवैध औषधिसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन्। जङ फुइन र उ छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई संखुवासभा प्रहरीले पक्राउ गरेको हो।

संखुवासभा खाँदवारी नगरपालिका ९ तुम्लिङटारमा रहेको बुद्ध होटल एण्ड लजमा अवैध रुपमा भन्सार राजश्व छली ल्याएको औषधिसहित उनीहरु पक्राउ परेका हुन्।

पीबीओजी नामको कृषि बालीमा प्रयोग हुने औषधि रुद्राक्षको बोटमा छर्कने लुकाइ राखेको भन्ने सूचना पाएपछि विमानस्थलका सुरक्षा गार्ड र संखुवासभाबाट खटिएको संयुक्त प्रहरी टोलीले लजमा छापा मारेको थियो।

कोठामा स्टोर गरी राखेको करिव ८०० के.जी. बराबरको पीबीओजी औषधि भेटिएको प्रहरीले जानकारी दिएको छ। बरामद भएको औषधिसहित दुई चिनियाँ नागरिकलाई कारवाहीका लागि राजश्व अनुन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ।