खेलकुद

फ्रेन्ड्सलाई हराउँदै एनआरटी पाँचौं स्थानमा उक्लियो, एपीएफसँग आर्मी बराबरीमा

By खबरहब

January 01, 2022

काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टीम (एनआरटी) पाँचौं स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौँ चरणको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३-२ ले पराजित गर्दै एनआरटी लिगको पाँचौं स्थानमा उक्लिएको हो। यससँगै फ्रेन्ड्स ३ अंकका साथ लिग अंक तालिकाको पुछारमा रहँदा एनआरटीको १० अंक छ।

शुक्रबारै भएको अर्को खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग उपाधि दाबेदार आर्मी बराबरीमा रोकिएको छ। एपिएफसँग १-१ गोलको बराबरीपछि पनि अपराजित आर्मी चौथो स्थानमा कायमै रहेको छ। आर्मी ७ खेलमा ११ अंकसहित चौथो स्थानमा छ।

एपीएफले सातौं चरणसम्म १० अंक गुमाइसकेको छ । एपीएफको समान खेलमा ६ अंकसहित ११ औं स्थानमा छ ।

आर्मीको यो लगातार तेस्रो बराबरी हो । पाँचौँ चरणमा सातदोबाटो युथ क्लबसँग अंक बाँडेको आर्मीले छैटौं चरणमा थ्री स्टार क्लबसँग अंक बाँडेको थियो ।