राजनीति

माओवादी केन्द्रीय समितिमा खुला र समावेशीको हिस्सा बराबर हुने

By खबरहब

January 01, 2022

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)मा अब केन्द्रीय समितिमा खुल्ला र समावेशीको हिस्सा बराबरी हुने भएको छ ।

पार्टीको संशोधित विधानअनुसार अब केन्द्रीय कमिटीमा खुल्ला ५० प्रतिशत र समावेशी ५० प्रतिशत सदस्य रहनेछन् ।

महाधिवेशनबाट पारित संशोधित प्रस्तावले केन्द्रीय समिति सदस्य ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी कोटा प्रणालीबाट बनाउने व्यवस्था गरेको केन्द्रीय सदस्य शिवकुमार मण्डलले जानकारी दिए ।

५० प्रतिशतको समावेशी कोटामा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपाङ्गता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर हुनेछ ।

यसअघि १५ जना पदाधिकारी बनाउने भनिएकोमा त्यो संख्या राख्ने वा नराख्ने भन्ने अधिकार केन्द्रीय समितिलाई नै दिइएको छ ।

यस्तै केन्द्रीय सदस्य मानोनित गर्ने प्रतिशतलाई १५ मा पुर्‍याइएको छ । यसअघि १० प्रतिशत मनोनित गर्ने प्रस्ताव थियो । केन्द्रीय समिति भने २९९ सदस्यीय नै हुनेछ ।