देश/प्रदेश

मधेस सरकारले कक्षा ११ र १२ का छात्रालाई ल्यापटप दिने

By खबरहब

February 01, 2022

जनकपुरधाम– मधेस प्रदेश सरकारले कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने भएको छ ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने निर्णय भएको जानकारी दिएका हुन् ।

उनले खबरहबसँग भने ‘कक्षा ११ र १२ का छात्राहरूलाई ल्यापटप दिने हामीले तयारी गरेका छौँ । यो कार्यक्रमको फाइल अहिले अर्थ मन्त्रालयमा छ । ल्यापटप खरिदका लागि टेन्टर हुन नै बाँकी छ ।’ मन्त्री साहले यसै वर्षबाट ल्पापटप वितरण गर्ने तयारी गरेको पनि जनाए । यद्यपि, सबै प्रक्रिया पूरा गर्न समय लाग्नेसमेत उनले स्पष्ट पारे ।

मन्त्री साहले पहिलो चरणमा विज्ञान विषय लिएर अध्ययन गर्ने छात्राहरूलाई ल्यापटप दिनेसमेत जानकारी दिए ।

विगतमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सञ्चालन गर्दै आएको बेटी पढाउ बेटी बचाउ कार्यक्रम अहिले सामाजिक विकास मन्त्रालयमातहत आएको छ ।

यो कार्यक्रमअन्तर्गत साइकल वितरण, छात्राका लागि शौचालय निर्माण, छोरी बिमा, लोकसेवा परीक्षा तयारी कक्षालगायत छोरीलक्षित कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।