समाचार

मधेस प्रदेशका पत्रकारलाई ७ लाखसम्मको बिमा गर्ने तयारी

By खबरहब

February 01, 2022

जनकपुरधाम– मधेसमा पत्रकारहरूका लागि प्रदेश सरकारले स्वास्थ्य बिमा गर्न लागेको छ ।

जनकपुरधाममा मंगलबार आमसञ्चार प्राधिकरणले गरेको कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले पत्रकारहरूका लागि बिमाको व्यवस्था हुन लागेको जानकारी दिएका हुन् । उनले पत्रकारको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर बिमा हुन लागेकोमा खुशी व्यक्त गरे ।

मन्त्री साहले मधेस प्रदेशका पत्रकारहरूको स्वास्थ्यका साथै दुर्घटना बिमा गर्न आमसञ्चार प्राधिकरणले काम अगाडि बढाउने पनि जानकारी दिए ।

कार्यक्रममा प्राधिकरण अध्यक्ष श्यामसुन्दर यादवले ७ लाखसम्मको बिमा गरिने जानकारी दिनुभयो । उनले पत्रकार अस्वस्थ्य भएमा वा दुर्घटनामा परेमा १ लाखसम्म र अशक्त वा मृत्यु भएमा ७ लाख दिइने जानकारी दिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईलगायत सहभागी भएका थिए ।