देश/प्रदेश

नेपालमा आज : के-के भयो दिनभर ?

By खबरहब

March 01, 2022

राष्ट्रको हित प्रतिकूल नहुनेगरी एमसीसी कार्यान्वयन गर्नुपर्नेमा एमालेको जोड

प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसी परियोजना सम्बन्धी सम्झौता संसदबाट पास भइसकेको भन्दै राष्ट्रको हित प्रतिकूल नहुनेगरी कार्यान्वयन हुनुपर्ने जनाएको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै एमालेले सम्झौता गरिसकेपछि कार्यन्वयनमा लाग्नुपर्ने भएकाले यसमा राष्ट्रको हितलाई ध्यान दिनुपर्ने जनाएको हो । एउटा सरकारले दातृ राष्ट्र वा निकायसँग गरेको सहमति वा सम्झौता अर्को सरकारले उपयुक्त कारण वा प्रक्रिया बिना नै रद्ध गर्ने हो भने त्यस्ता राष्ट्रपति विश्वासको संकट उत्पन्न हुन जाने एमालेको भनाई छ । एमालेले पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुने समेत जनाएको छ । त्यस्तै एमालेले एमसीसीको विषयमा प्रतिनिधिसभामा प्रस्तुत व्याख्यात्मक टिप्पणीलाई भ्रमको खेती भएको तर्क गरेको छ ।

गठबन्धन जोगाउन आफ्नो भुमिका महत्वपुर्ण रहेकोे एकिकृत समाजवादीको दाबी

नेकपा एकीकृत समाजवादीले एमसीसीसँगै अनुमोदनको गरिएको व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पु-याउनबाट रोकिएको दाबी गरेको छ । एमसीसी पारित भएपछि पार्टीको धारणा सार्वजनिक गर्न आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादीले एमसीसीले उत्पन्न गराएको जटिलता र संशयपूर्ण क्रियाकलापलाई व्याख्यात्मक घोषणाले अन्त्य गरेको दाबी गरेको हो । पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले इन्डो प्यासेफिक स्ट्राटेजी आईपीएसमा नेपाललाई सहभागी गराउने कार्य नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रित्व कालमा भएको आरोप लगाए। उनले जनता सडकमा उत्रेको नभए एमसीसी जस्ताको तस्तै पारित हुने खतरा रहेको उल्लेख गरे ।

सुर्खेतको वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्फ्यू हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो । मंगलबार बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । दिनभरिको अवस्था हेर्दा कुनै अप्रिय घटना नभएकाले सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ रिजालले बताए । उनका अनुसार प्रशासनले वीरेन्द्रनगरको यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र पाँच जनाभन्दा बढी मान्छे जम्मा हुन र कुनै पनि विरोध प्रदर्शन गर्न रोक लगाएको छ ।

भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि दिउँसो १ बजे बस्ने बैठकका लागि आज सार्वजनिक गरिएको सार्वजनिक कार्यसूचीमा एउटा प्रतिवेदन र दुई वटा विधेयक पेश गर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत आवको राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

एमसीसीविरुद्ध विप्लव नेकपासहित ६ पार्टी र २ मोर्चाद्वारा आन्दोलन घोषणा

एमसिसी संसदबाट पास भएको दिनलाई ६ वटा कम्युनिष्ट पार्टी र दुई मोर्चाले कालो दिन घोषणा गरेको छ । काठमाडौँको पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको सुयुंक्त बैठकले फागुन १५ गतेलाई कालो दिन रुपमा घोषणा गर्ने निर्णय गरेको हो । बैठकपछि सयुंक्त विज्ञप्ति जारी उनीहरुले शुक्रबार देखि चैत ६ गतेसम्म सघंर्षको कार्यक्रमहरुको पनि घोषणा गरेको छ । यस्तै उनीहरुले देउवा सरकार, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ,जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले नेपाली जनताको विरोध आन्दोलनको विरुद्ध अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको टिप्पणी समेत गरेका छन् ।

महाशिवरात्रि पर्व देशभर धुमधामका साथ मनाइयो

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर धुमधामका साथ मनाइएको छ । महा शिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । यसैबिच महा शिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर लगायत विभिन्न धार्मिक स्थलमा भक्तजनले भिडभाड लागेको थियो । महा शिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी हुन् । राष्ट्रपति भण्डारी पुगेको २० मिनेटपछि मन्दिर प्रवेश गरेका पूर्वराजाले पूजा आराधाना गरेका हुन् ।

टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी सेना दिवस सम्पन्न

नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवसको अवसरमा बढाइँ कवाजसहितको विशेष समारोह आयोजना गरेको छ । सैनिक मञ्च टुडिखेलमा आयोजित बिशेष समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा, सभामुख अग्नी सापकोटा लगाएतको उपस्थीति रहेको थियो । सो क्रममा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नुका साथै वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् । समारोहमा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस –२०७८’अंकित व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिएको थियो । त्यस्तै नेपालको राष्ट्रिय झण्डाको आकृति समेत निर्माण गरी राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो भने सेनाद्धारा मार्चपास गरिएको थियो।

संवैधानिक परिषदमा प्रधानन्यायाधीशलाई नराख्न माग

कानुन ब्यवसायीहरुले संवैधानिक परिषदमा प्रधानन्यायाधीशलाई नराख्न माग गरेका छन् । हालको संवैधानिक परिषदमा प्रधानन्यायाधीश रहने व्यवस्था संविधान संशोधन गरेर परिवर्तन गर्न उनीहरुले माग गरेका हुन्। आज काठमाडौंमा सकिएको १५ औं अखिल नेपाल राष्ट्रिय कानुन व्यवसायी सम्मेलनको घोषणापत्रमा संवैधानिक परिषदमा प्रधानन्यायाधीशको भूमिकालाई लिएर सर्वोच्चमा मुद्दा पर्ने गरेको भन्दै प्रधानन्यायाधीशको संलग्नता नरहने व्यवस्था गर्न माग गरेका हुन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य हुन्छन् । हाल संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिसको विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासमा छ ।

भारतीय आयात कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठायो

भारतीय आयात कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आज प्राप्त नयाँ मूल्यसूचीअनुसार आईओसीले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धी गरी पठाएको हो । इन्डियन आयल कर्पोरेसनबाट हिजोको मूल्यभन्दा आज प्राप्त नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल तीन रुपैयाँ ८९ पैसा, डिजेल तीन रुपैयाँ ०८ पैसा, मट्टितेल १० रुपैयाँ ३० पैसा, हवाई इन्धन तीन रुपैयाँ ३२ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर ९९ रुपैयाँ १७ पैसाले बढेर आएको बताइएको छ । मुल्य वृद्धि हुँदा निगमलाई आगामी १५ दिनमा करिब तीन अर्ब नौ करोड घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ ।

नेपालमा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ४ सय ५८ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार ४६ एन्टीजेन परिक्षणका क्रममा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३८ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय ५४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार १सय ६७ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले पनि मन्त्रालयले जनाएको छ ।