खेलकुद

मनमोहन स्मृति फुटबल : सेमिफाइनलमा चार टोली भिड्ने 

By खबरहब

April 01, 2022

बुटवल – १६औँ मनमोहन स्मृति वडा स्तरीय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता-२०७८ को सेमिफाइनलका लागि ४ टिमको टुंगो लागेको छ।

बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर १९ माथि १-० गोल अन्तरको जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

सिद्धेश्वर खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर ८ को जितमा मनोज गुरुङले खेलको १२औँ मिनेटमा एक मात्र निर्णायक गोल गरे। खेलमा वडा नम्बर १९ का सरोज गलामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

बुटवलमा जारी प्रतियोगितामा शुक्रबार पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ११ र १७ भिड्नेछन् । शनिबार दोस्रो सेमिफाइनलमा वडा नम्बर ८ ले वडा नम्बर ७ को सामना गर्नेछ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको विजेताले ६० हजार र उपविजेतालाई ३० हजार रुपैयाँ नगदसहित कप, मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । युवालाई खेलमार्फत भातृत्व विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।