मनोरञ्जन

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को अडिसन खुल्ला, वैशाखदेखि टिभीमा हेर्न सकिने

By खबरहब

April 01, 2022

काठमाडौँ – रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ आगामी वैशाखदेखि प्रसारणमा आउने भएको छ ।

बैशाख १८ गते आइतबारदेखि हप्ताको दुई दिन बेलुका ८ देखि ९ बजेसम्म इमेज टेलिभिजनबाट यो शो नियमित प्रसारण हुने निर्माण संस्था भ्वाइस स्टार नेपाल्सले बताएको छ ।

विवेक सिंह ठकुरी र गायिका केन्जल मेहर श्रेष्ठले होस्टको भूमिकामा हुनेछन् भने निर्णायकको रुपमा गायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार रहने कार्यक्रमका निर्माता सुरज लाल जोशीले जानकारी दिए ।

रवि श्रेष्ठले निर्देशन गर्न लागेको यो रियालिटी शोमा अन्य रियालिटी शोमा भाग लिइसकेका प्रतिस्पर्धीहरु वा पाँच वर्षभन्दा बढी समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायक गायिका सहभागी हुन पाउने निर्माता जोशीले बताए ।

यो रियालिटी शोको अडिसन खुल्ला गरिएको छ । अडिसनका लागि नेपाल्स सिङ्गिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिङ सुपरस्टारको इमेलमा आफूले गाएको गीत (बढीमा दुई मिनेट सम्मको भिडियो) पठाउन भनिएको छ ।

विजेताले २५ लाख नगद प्राप्त गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ ।