तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

युक्रेनी सैन्य हेलिकोप्टरद्वारा रुसी इन्धन डिपोमा आक्रमण

By खबरहब

April 01, 2022

काठमाडौं– युक्रेनी फौजले रुसी इन्धन डिपोमा आक्रमण गरेका छन् । रुसको पश्चिमी बेलोगोरोद शहरमा रहेको इन्धन डिपोमा दुई युक्रेनी सैनिक हेलिकोप्टरले आक्रमण गरेको सो क्षेत्रका गभर्नरले जनाएका हुन् ।

सामाजिक सञ्जाल टेलिग्राममार्फत जानकारी दिँदै बेलोगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले कम उचाईमा उडेका दुई युक्रेनी हेलिकोप्टरले इन्धन डिपोलाई लक्षित गरी आक्रमण गरेको बताए । आक्रमणबाट उक्त डिपोमा आगलागी भएको र दुई कामदार घाइते भएको उनको भनाइ छ ।

यद्यपि उक्त डिपोको स्वामित्व रहेको रुसी कम्पनी रोस्नेफ्टले भने आक्रमणका क्रममा कुनै मानवीय क्षति नभएको जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर एवम् भिडियोमा कम उचाइबाट प्रहार गरिएका केही क्षेप्यास्त्रले इन्धन डिपोमा आक्रमण गरेको देखिन्छ । आक्रमण लगत्तै ठूलो आगलागीको दृश्य एवम् धुवाँको कालो मुस्लो उडिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा देखिन्छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण थालेयता युक्रेनले रुसी भूभागमा आक्रमण गरेको यो पहिलो घटना भएको जनाइएको छ । यद्यपि यस घटनाबारे युक्रेनी रक्षामन्त्रालयले कुनै टिप्पणी नगरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।