तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

अमेरिकी रणनीतिक भण्डारबाट १८ करोड ब्यारेल तेल निकाल्न बाइडेनको निर्देशन

By खबरहब

April 01, 2022

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभर उर्जाको मूल्य बढिरहेको अवस्थामा अमेरिकी रणनीतिक भण्डारणबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै हाल विश्वभर उर्जाको मूल्य बढिरहेको समयमा मूल्य समायोजनका लागि यस्तो निर्देशन दिएको ह्वाइट हाउसले जनाएको छ ।

यससँगै अमेरिकी रणनीतिक भण्डारबाट दैनिक १० लाख ब्यारेलको हिसाबमा आगामी छ महिनामा सबैभन्दा उच्च १८ करोड ब्यारेल तेल निकालिने जनाइएको छ । यद्यपि दैनिक १० लाख ब्यारेल तेलले मात्रै विश्व उर्जा संकट समाधान नहुने विश्लेषकहरुले बताएका छन् ।

यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने विश्लेषकहरूले बताएको बीबीसीले जनाएको छ ।

यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि तेल संकट समाधानको एउटा सामान्य पहलस्वरूप बाइडेनले पछिल्लो कदम चालेको ह्वाइट हाउसको भनाइ छ ।

रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता भएको र रूसबाट तेल खरिदमा प्रतिबन्धको घोषणा गरेसँगै अमेरिका, युरोप लगायत विश्व बजारमा तेलको अभाव देखिएको र तेलको उच्च मागका कारण मूल्य वृद्धि भएको छ । 

यद्यपि कतिपय अमेरिकी सञ्चारमाध्यमले बाइडेनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेको बताएका छन् । ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा समेत बनेको छ ।