समाचार

संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्छः मन्त्री झाँक्री

By खबरहब

April 01, 2022

विराटनगर– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी छन् ।

शहरी विकास मन्त्रालयद्वारा प्रदेश १ को विराटनगरमा शुक्रबार भएको राष्ट्रिय शहरी नीति तथा शहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तर्क्रियामा  मन्त्री झाँक्रीले संघीयताको मर्मअनुसार तीनवटै तह मिलेर अघि बढ्नुपर्ने बताएकी हुन् ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले संघीयताको मर्मअनुसार विकास र बजेट विकेन्द्रित हुनुपर्ने धारणा राखेका छन् ।

ठूला शहरमा मात्र विकास र लगानी केन्द्रित हुँदा बसाई सराईको क्रम बढेको बताउँदै उनले सबै क्षेत्रमा विकास पुग्ने गरी नीति परिमार्जन गर्नुपर्ने पनि बताए ।

त्यस्तै, शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संघीयतापछि शहरी नीति परिमार्जनको टड्कारो आवश्यकता देखिएको बताए ।

शहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक दिलिप भण्डारीले मन्त्रालयले सातै प्रदेशमा सबैको रायसहित शहरी नीति परिमार्जन गरिने बताएका थिए ।