समाचार

ललितपुरमा एक्लो घोडा दौडाएर मनाईयो घोडे जात्रा

By खबरहब

April 01, 2022

काठमाडौँ – ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइएको छ ।

ललितपुरमा हरेक बर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाईदैँ आएको छ ।

ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ । भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्‍याइ, टीका पूजा गरिन्छ ।

त्यस स्थानदेखि एकल घोडेजात्रा सुरु हुन्छ । पाटनको मूलचोकबाट सुरु भई बिभिन्न स्थान हुदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै घोडायात्रा फर्किन्छ । नगर परिक्रमापछि घोडचढीलाई पान, सुपारी र दक्षिणा दिने प्रचलन छ ।

जात्राको पछि पछि सिमसिम राजाको प्रतीकका रूपमा गुठी संस्थानका एक कर्मचारीलाई तरवार बोकाउनुका साथै छाता ओढाई सम्पूर्ण गुठियारहरू जात्रामा सरिक हुने गरिन्छ । यसरी दुईपटकसम्म ओहोरदोहोर गरी तीनपटक परिक्रमा गरी यो जात्रा मनाईन्छ ।