राजनीति

श्रमिक वर्गले गरिखाने अवसर निर्माण गरौँ : बागमती प्रदेश प्रमुख शर्मा

By खबरहब

May 01, 2022

हेटौँडा – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गले गरिखाने सुनौला अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।

१३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले श्रमिकलाई दक्ष बनाउँदै उनीहरूलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका हुन् ।

‘संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा मनाइने ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’का सन्दर्भमा सम्पूर्ण श्रमजीवीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु,’ शर्माले भनेका छन् ।

मे दिवसले श्रम क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गर्दै उनले विश्वभर सञ्चालन भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलन, विद्रोह र परिवर्तनमा श्रमिक वर्गको अतुलनीय भूमिका रहेको बताए ।