ब्रेकिङ स्टोरी

लुकाउन खोजिएको सत्यः एमाले मुख्यालयमा डेगेन्द्र राजवंशीको आत्महत्या

By कुसुम भट्टराई

May 01, 2022

नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको तयारी चलिरहेको थियो। बारम्बारको असफल संसद विघटन र एमाले विभाजनपछि पनि अध्यक्ष केपी ओलीको एकल प्राधिकारवाला दम्भ प्रकट भइरहेकै थियो।

२०७८ मंसिर ९ मा कवि विमल निभाको कविता कृति ‘डेगेन्द्र राजवंशीको आत्महत्या’को विमोचन भयो। एमाले पंक्तिले दबाउन र लुकाउन खोजेको एउटा हृदयविदारक घटनालाई बिम्ब बनाएका कवि निभाले डेगेन्द्र राजवंशीको आत्महत्यालाई ‘नृशंसतापूर्वक गरिएको आत्महत्यात्मक हत्या’ बताएका थिए। कविताको एउटा पंक्ति यस्तो छः ‘कम्युनिष्ट पार्टीको त्यो हेडक्वार्टरमा जहाँ कमरेड डेगेन्द्र राजवंशीको आत्महत्यात्मक हत्या भएको थियो नृशंसतापूर्वक त्यहाँ बिहानैदेखि नै पोलिट्ब्यूरोको मिटिङ भइरहने गर्छ प्रतिदिन र, पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, र, स्थायी कमिटीका मेम्बरहरु गरिब, दुःखी र सर्वहाराहरुका सम्पूर्ण पक्षमा गर्ने गर्छन् निरन्तर लामा–लामा अलौकिक बहस, छलफल र वार्ता !’ प्रकाश संस्था ‘बेला पब्लिकेसन्स’का सम्पादक विनोदविक्रम केसीले कविता संग्रह विमोचन समारोहमा भनेका थिए, ‘आलुबखडाको बोटमा जुन दिन डेगेन्द्र राजवंशी पासो लागे, त्यो दिन नेपालको कम्युनिष्ट आन्दोलनले पनि एक किस्ता मृत्यु बेहोर्यो। अविराम उही आन्दोलनको अंश रहेका कवि विमल निभालाई दारुण बिम्बका हैसियतले डेगेन्द्रले सदैव आलो रहने शोक दिए, यो कविता संग्रह डेगेन्द्रकै नाममा सचोट र सआक्रोश समर्पित छ।’

झापा विद्रोहदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका डेगेन्द्र राजवंशीले २०६७ वैशाख ४ गते एमालेको बल्खुस्थित तात्कालीन मुख्यालयमा आरुबखडाको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए। डेगेन्द्रले आत्महत्या गरेको चार महिनापछि उनका छोरा शम्भु राजवंशीले पनि आत्महत्या गरे। आत्महत्याको एउटै कारण थियो, एमालेका तात्कालीन नेताद्वय केपी ओलीले राजवंशीप्रति गरेको हेपाहा व्यवहार र उपेक्षा।

झापा विद्रोहदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका डेगेन्द्र राजवंशीले २०६७ वैशाख ४ गते एमालेको बल्खुस्थित तात्कालीन मुख्यालयमा आरुबखडाको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए।

यो घटनालाई एमालेले सकेसम्म लुकाउने र दबाउने चेष्टा गर्दै आयो। एमालेले यसलाई ढाकछोप गर्दै एउटा सामान्य घटनाको रूपमा ग्रहण गर्यो। संचार माध्यमले पनि यसलाई खासै महत्त्व दिएनन्। नेताका बकम्फुसे भाषण भँगेरे अक्षरमा समाचार बनाउने मिडियाले एउटा क्रान्तिकारी कम्युनिष्ट’को भयावह आत्महत्याको घटना र त्यसभित्र लुकेको तथ्यलाई उजागर नै गरेनन्।

को थिए डेगेन्द्र ? एक दशक लामो जेल जीवन बिताएका संघर्षशील कम्युनिस्ट कार्यकर्ता राजवंशी झापा विद्रोहका बेला नेकपा मालेबाट राजनीतिमा होमिएका थिए। २०३० को दशकमा भएको झापा आन्दोलनमा उनी नेताहरु सीपी मैनाली र राधाकृष्ण मैनालीका सहयोद्धा थिए।

तत्कालीन माले नेतालाई ‘सेल्टर’ दिएर सघाएको आरोपमा राज्यविरुद्धको अभियोगमा पक्राउ परेका उनलाई ९ वर्षसम्म जेलमा राखियो। २०४७ मा बहुदल आएपछि उनी एमालेमा आवद्ध भए। २०६२/०६३ सालको जनआन्दोलनताका उनको खुट्टामा गोलीसमेत लागेको थियो। तर, एमालेका अहिलेका अध्यक्ष केपी ओलीलगायतका केही नेताले उनलाई पार्टीको केन्द्रीय तहसम्म पुग्नै दिएनन्। राजनीतिक रुपमा माथि उठन नसकेका उनको आर्थिक अवस्था पनि कमजोर थियो।

एक दशक लामो जेल जीवन बिताएका संघर्षशील कम्युनिस्ट कार्यकर्ता राजवंशी झापा विद्रोहका बेला नेकपा मालेबाट राजनीतिमा होमिएका थिए। २०३० को दशकमा भएको झापा आन्दोलनमा उनी नेताहरु सीपी मैनाली र राधाकृष्ण मैनालीका सहयोद्धा थिए।

पत्रकार छम गुरुङसँगको एक अन्तर्वार्तामा कवि निभाले भनेका छन्, ‘मलाई लाग्छ– डेगेन्द्र राजवंशीहरूका सपनालाई कुल्चेर नै नेकपा एमालेको हेडक्वार्टर ठड्याइएको हो। हेडक्वार्टर उनीहरूका सपनाहरूको चिहानमा खडा गरियो। त्यहाँ बसेर सामान्य जनका लागि काम गर्छु भनेर घोषणा गर्ने तर त्यसविपरीत व्यवहार गर्ने काम जारी रह्यो।’ कवि निभाका शब्दमा कम्युनिष्टलाई सामान्य जनजीवनको सरोकारसँग जोडिएको पार्टी भनिन्छ। त्यही पार्टीको मुख्य अड्डामै कम्युनिस्ट आन्दोलनको योद्धाले आत्महत्या गर्नपुग्नु कुनै छुटफुट घटना थिएन। त्यसका पछाडि कैयौं कारणहरू छन्।

‘डेगेन्द्रको आत्महत्या हेर्दाखेरी सामान्यजस्तो लागे पनि यसको अन्तर्यमा चाहिँ कम्युनिष्ट आन्दोलनको एउटा दारुण व्यंग्य छिपेको छ। सामान्य व्यक्ति या पात्र मात्र होइन– डेगेन्द्र राजवंशी, उनी सिंगो कम्युनिष्ट आन्दोलनको सार हो। कम्युनिस्ट आन्दोलन र राजनीतिमा भए–गरेका ऐतिहासिक धोका, विसंगति, हेपाहा प्रवृत्ति, विरोधाभासहरूको एउटा सारतत्वका रूपमा पनि उनलाई लिन सकिन्छ’, कवि निभाले भनेका थिए।

डेगेन्द्रले किन गरे आत्महत्या ? झापा विद्रोहका योद्धा डेकेन्द्र राजवंशीले बल्खुस्थित नेकपा (एमाले) को तात्कालीन कार्यालयमा २०६७ वैशाख ४ मा आत्महत्या गर्नुका पछाडिको मुख्य कारण एमाले नेताको हेपाहा व्यवहार र उपेक्षा नै थियो।

डेगेन्द्र तिनताक आफ्ना २४ वर्षीया छोरा शम्भुका लागि कुनै सानोतिनो जागिरको सिलसिलामा नेताहरुलाई भेट्न काठमाडौं आइरहन्थे। नेताहरुले बारम्बार आश्वासन मात्र दिए। तर, उनको मर्म कसैले बुझेनन्। आफ्ना नातागोतालाई लाभका पदमा भर्ती गर्ने होडमा रहेका एमाले नेताहरुले भूमिगतकालदेखिका योद्धाको समस्या समाधान गर्नुको साटो उल्टै अपमान गरेका थिए।

डेगेन्द्र तिनताक आफ्ना २४ वर्षीया छोरा शम्भुका लागि कुनै सानोतिनो जागिरको सिलसिलामा नेताहरुलाई भेट्न काठमाडौं आइरहन्थे। आफ्ना नातागोतालाई लाभका पदमा भर्ती गर्ने होडमा रहेका एमाले नेताहरुले भूमिगतकालदेखिका योद्धाको समस्या समाधान गर्नुको साटो उल्टै अपमान गरेका थिए।

आत्महत्या गर्नुअघि झापा, दुवागढी ५ का ६५ वर्षीय डेगन्द्र छोरा शम्भुको जागिरका लागि दुई महिनादेखि वरिष्ठ नेता र एमालेका मन्त्रीलाई भेटिरहेका थिए। छोराको जागिरको याचना उनले एक वर्षदेखि गर्दै आएका थिए। यसकै लागि झापाबाट पटक–पटक एमाले केन्द्रीय कार्यालयमा धाउने गरेका थिए। आर्थिक संकटमा रहेका डेगेन्द्रका जेठा छोरा साउदी अरबमा काम गर्थे, तर खासै कमाइ थिएन।

दैनिक गुजारामै समस्या भएपछि डेगेन्द्रको एउटै चाहना थियो, कान्छा छोरालाई कतै जागिर लगाइदिने। पछिल्लो पटक काठमाडौं आउँदा डेगेन्द्र र उनका छोरा शम्भु एमाले केन्द्रीय कार्यालयकै आवास गृहमा बसिरहेका थिए।

२०६७ वैशाख ३ मा एकाबिहानै डेगेन्द्र छोराको जागिरको आशमा एमाले नेता केपी ओलीलाई भेटन बालकोटस्थित निवास पुगेका थिए। चार घन्टाभन्दा बढी प्रतिक्षा गरेर ओलीलाई भेट्न पाएका उनले छोरालाई जागिरमा लगाइदिन अनुनय विनय गरेका थिए। २०३३ सालमा केन्द्रीय कारागारमा बन्दी हुँदादेखि चिनेका राजवंशीप्रति ओलीमा कुनै करुणा भाव जागेन।

दैनिक गुजारामै समस्या भएपछि डेगेन्द्रको एउटै चाहना थियो, कान्छा छोरालाई कतै जागिर लगाइदिने। पछिल्लो पटक काठमाडौं आउँदा डेगेन्द्र र उनका छोरा शम्भु एमाले केन्द्रीय कार्यालयकै आवास गृहमा बसिरहेका थिए।

झापाकै नेता ओलीलेसमेत आफ्नो मागको सुनुवाइ नगरेपछि उनी निराश भएको बताइन्छ। त्यसकै भोलिपल्ट अर्थात् मध्यरातमा उनले एमाले मुख्यालयमा आरुबखडाको रूखमा सानो रुमालको पासो लगाई आत्महत्या गरेका थिए।

बिहानपख वैशाख ४ गते शनिबार एमाले मुख्यालयका लाइब्रेरियन रामचन्द्र बोहराले बगैंचामा डिकेन्द्र झुन्डिएको अवस्थामा फेला परे। उनले प्रहरीलाई खबर गरे। टिचिङ अस्पतालमा उनको शवको पोस्टमार्टम भयो। त्यसपछि अन्तिम संस्कारका लागि शव झापा लगिएको घटनाक्रम देखिन्छ।

एमालेमाथि लागेको कलंक डेगेन्द्रले एमाले मुख्यालयमै आत्महत्या गरिरहँदा मुलुकमा एमालेकै सरकार थियो। माधवकुमार नेपाल प्रधानमन्त्री थिए। त्यसैताका प्रधानमन्त्री नेपालले हङकङको महावाणिज्य दूतमा आफ्ना भाइ सरोज उपाध्यायलाई नियमविपरीत नियुक्त गरेका खबर आइरहेका थिए। अर्का भाइ विनोद उपाध्यायलाई गरिबी निवारण कोषको सदस्य बनाएका थिए।

एमालेका टाठाबाठा कार्यकर्ताले विभिन्न लाभका पदमा नियुक्ती र राज्यकोषको दोहन गरिरहँदा क्रान्तिकै एक योद्धाका छोरालाई आफ्नै पार्टीको सरकार हुँदा जागिर दिइएन। छोराले सामान्य जागिरसमेत नपाएपछि निराश भएकाले डेगेन्द्रले आर्थिक संकटकै कारण आत्महत्या गरेको स्पष्ट हुन्छ।

एमालेका टाठाबाठा कार्यकर्ताले विभिन्न लाभका पदमा नियुक्ती र राज्यकोषको दोहन गरिरहँदा क्रान्तिकै एक योद्धाका छोरालाई आफ्नै पार्टीको सरकार हुँदा जागिर दिइएन।

बहुदल आएपछि रातारात नव धनाढ्य वर्गमा परिणत भएका प्रायः एमाले नेताका काठमाडौंमा घर र गाडीहरु छन्। तिनका सन्तानसम्मको पृष्ठपोषण भएको छ। तर, एक दशकसम्म जेल जीवन बिताएका डेगेन्द्रले भने आर्थिक संकटकै कारण आत्महत्या गर्नु परेको घटना एमालेको इतिहासमा एउटा कलंकको टीका बनेर रहेको छ, जसलाई दबाउन र लुकाउन एमालेले कुनै कसर बाँकी राखेन।

बिडम्बना, डिकेन्द्रले आत्महत्या गरेको ४ महिनापछि साउनमा राजवंशीका छोरा शम्भुले पनि आफ्नै निवासमा आत्महत्या गरे। बाबुको मृत्युपछि विक्षिप्त शम्भूमा पनि घनघोर निराशा थियो।