काठमाडौँ – काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौँमै फिर्ता भएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार फ्लाइट नम्बर-९५३ ‘ए–एनपी’ को जहाज ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।
बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाजको पछिल्लो टायरका केही पार्ट धावनमार्गमा भेटिएपछि काठमाडौँ फर्काइएको हो। जहाजमा ६९ जना यात्रु सवार थिए। यात्रुलाई अर्को उडानमार्फत भद्रपुर पठाइँदै छ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौँबाट ३० नटिकल माइल उडेको जहाज काठमाडौँ फिर्ता भएपछि विमानस्थल बन्द गरिएको छ ।
अहिले प्राविधिक जाँच गरिँदै छ ।