काठमाडौँ– यसवर्षको प्रतीक्षित फिल्म मध्येको एक ‘केजीएफ : च्याप्टर २’ प्रदर्शनरत छ । प्रदर्शन पश्चात यसले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मले आक्रामक व्यापारका साथ ओपनिङ समेत गरेको थियो । ‘केजीएफ : च्याप्टर १’ मार्फत सुपरस्टार बनेका यशकै वरपर फिल्मको कथा घुमेको छ ।
पहिलो च्याप्टरको सफलतापछि आउँदै गरेको सिक्वेललाई अझै विशाल बनाइएको छ । फिल्मले विश्वभरको बक्स अफिसमा एक हजार करोड भन्दा बढी कलेक्सन गरिसकेको छ । ‘केजीएफ’ सिरिज मार्फत यश कन्नडा फिल्मबाट भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
पहिलो च्याप्टर आउँदा सामान्य साउथको फिल्मको रुपमा हेरिएको ‘केजीएफ’ ले कन्नडा फिल्मलाई विश्वभर चिनायो । प्रशान्त नीलको निर्देशनमा बनेको फिल्मले डिजिटल राइट्स वापत ३ सय २० करोड रुपैयाँ पाएको खबर भारतीय मिडियामा छ । फिल्म यही जुन महिनाको ३ तारिखमा ओटीटीमा आउने छ । दर्शकले यसलाई अमेजन प्राइम भिडियोमा हेर्न पाउनेछन् ।
केही समय अगाडि नै पे पर भ्यु सिस्टममा उपलब्ध यो फिल्म अब सम्पूर्ण सब्सक्राइबरले अतिरिक्त शुल्क नतिरी हेर्न पाउने छन् ।