काठमाडौँ- पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । पश्चिम अस्ट्रेलिया विश्वविद्यालयका वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।
यो बिरुवा पोसिडोनिया अस्ट्रेलिस प्रजातिको रहेको बताइएको छ । यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ । यो सामान्यतया अष्ट्रेलियाको दक्षिणी तटवर्ती किनारमा पाइन्छ ।
आनुवंशिक परीक्षण प्रयोग गरेर वैज्ञानिकहरूले पश्चिमी अष्ट्रेलियामा ठूलो पानीमुनिको एउटा घाँसे मैदान वास्तवमा एउटा बोट हो भनेर निर्धारण गरेका हुन् । यो कम्तीमा ४५०० वर्षमा एउटै बीउबाट फैलिएको विश्वास गरिएको छ ।
टोलीले पश्चिम अस्ट्रेलियाको पर्थ सहरबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सार्क बेमा संयोगवश फेला पारेका थिए ।
अन्वेषकहरूले खाडीबाट विरुवाको अंकुर संकलन गरेपछि १८०० आनुवंशिक मार्करहरू जाँच गरेका थिए । त्यसपछि प्रत्येक नमूनाबाट फिंगरप्रिन्ट निकालिएको थियो ।