फाइल फोटो

राजनीति

मुलुक दुई तहको संघीय संरचनामा जानुपर्दछ : अध्यक्ष थापा

By खबरहब

July 01, 2022

कर्णाली– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको संघीय संरचनामा जानुपर्नेमा जोड दिएका छन् ।

राप्रपा नेपाल कर्णाली प्रदेश कार्यसमितिद्वारा आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेशबाहेक सङ्घ र स्थानीय तहको संरचना मुलुकका लागि हितकर हुने बताए ।  अध्यक्ष थापाले भने , ‘विसं २०६३ देखि १६ वर्षसम्म राजतन्त्रकै मुद्दा लिएर कठिन सङ्घर्ष गरियो, तर राजतन्त्रको पुनःस्थापना हुने देखिएन र हामीले त्यो मुद्दा त्याग्यौँ, अब सुशासनको माध्यमबाट हिन्दु राज्यको स्थापना गर्न लोकतन्त्र र हिन्दूराज्यको एजेण्डा अगाडि सारेका छौँ ।’

उनले दुई तहको संघीयता स्वीकार गरिएको बताए । सोही क्रममा अध्यक्ष थापाले धर्म परिवर्तनको महामारीले मुलुक खतराको अवस्थामा पुगेको भन्दै त्यसलाई रोक्न सरकारलाई उचित कदम चाल्न आग्रह गरे । सनातन धर्मका नाममा समाजमा रहेका रुढीवादी, परम्परागत गलत संस्कृतिलाई समाप्त पार्न राप्रपा नेपालले देशव्यापी अभियान थाल्ने उनको भनाइ थियो । 

आर्थिक विप्रेषणबाट पालिएको देशको अवस्था कुनै पनि बेला सङ्कटमा पर्न सक्ने औँल्याए उनले मुलुकको नीतिगत र संरचनागत सुधार हुनुपर्ने, स्थिर राजनीतिका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिएका थिए ।