अन्तर्वार्ता

‘बञ्चरे डाँडामा फोहोर फाल्ने च्याप्टर क्लोज गर्नुपर्छ’

By धीरज बस्नेत

August 01, 2022

काठमाडौँ –  नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री हेरफेर भएको पनि एक महिना पूरा भएको छ । यो बीचमा मन्त्रीहरूले आफ्नो काम देखाउने प्रयत्न गरिरहेका छन् । मन्त्रीहरू छोटो समयमा परिवर्तन भइरहँदा मन्त्रालयको काम कारवाहीमा असर पर्नेसमेत टीकाटिप्पणी भइरहेका छन् । मन्त्री हेरफेर हुँदा के मन्त्रालयको काममा असर पुग्यो ? कि त्योभन्दा फरक ढङ्गले मन्त्रीहरू अगाडि बढेका छन् लगायतका विषयमा सहरी विकासमन्त्री मेटमणि चौधरीसँग धीरज बस्नेतले गरेको कुराकानी:

यो एक महिनाको कार्यकालमा के के गर्न भ्याउनुभयो ?

विगतको एक महिनालाई तुलना गर्ने हो भने धेरै उपलब्धी प्राप्त गरेका छौँ । शुरुमा सहरी विकास ऐन जुन २०६४ साल देखि पेन्डिङमा थियो त्यसलाई टुङ्गोमा पुर्‍याउने काम गरेका छौँ ।

एक महिनामा नै नगर विकास कोषको सञ्चालक समिति बनाएका छौँ । सहरी विकास मन्त्रालय अन्तर्गत रहेको पुर्नवास कम्पनीको नामबाट करीब १२ हजार ६६० घर परिवारलाई लालपुर्जा दिन सक्ने गरी भूमिसुधार मन्त्रालयका मन्त्रीसँग समन्वय गरेर त्यो प्रक्रियालाई अगाडि बढाएका छौँ ।

अबको केही दिनमा नै जनताले लालपुर्जा पाउँछन् । र पुर्नवास कम्पनीको नाममा आउन नसकेका जग्गाहरू कम्पनीको नाममा आउँछ । नगर विकास ऐन जुन रणनीतिक हिसाबले धेरै महत्त्वपूर्ण छ । यसलाई पनि हामीले टुङ्गोमा पुर्‍याउँदै छौँ ।

फोहोरमैला व्यवस्थापनलाई हामीले कसरी दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सकिन्छ भनेर धरानको प्रोजेक्ट तथा टेक्नोलोजी हेरेर त्यो टेक्नोलोजी सञ्चालक समितिका साथीहरूलाई निम्तो पनि गरेका छौँ र काठमाडौँलाई पनि यही टेक्नोलोजी प्रयोग गरेर व्यवस्थापन गर्ने प्रयास गरेका छौँ ।

काठमाडौँको फोहोर त निकै पेचिलो बन्दै गयो नि त भदौ १ गतेबाट बन्चरेबासीले हाम्रो क्षेत्रमा फोहोर फाल्न दिँदैनौँ भन्न थाले ?

२०६२ सालदेखि अहिलेसम्म विभिन्न निकायमा करीब १ सय ७४ वटा सहमति सम्झौताहरू भइसकेका छन् । ज–जसले फोहोर मैलाको व्यवस्थापनको जिम्मा लिएका छन्, उनीहरुको फोहोर मैलाको व्यवस्थापन प्रति ध्यान पुगेन । इच्छा शक्ति जाएर गरेन अथवा चाहेन ।

अहिले पनि फोहोर मैला व्यवस्थापनको नाममा धेरै पैसा कुनै मान्छे वा स्रष्टाले कुम्ल्याइरहेको छ । त्यसैले यो पोहोर मैलाको व्यवस्थापनलाई व्यवस्थित बनाउनभन्दा पनि अझ अव्यवस्थित र अस्तव्यस्त बनाउनेतर्फ मानिसहरूको ध्यान गइरहेको छ ।

सिसडोल र बन्चरे डाँडा आसपासका टाठाबाठा मान्छेलाई महानगर र सरकारबाट नै मासिक रूपमा तलब दिने गरिएको थियो रे नि ?

फोहोर मैला उठाउने नाममा कुनै व्यक्ति स्रष्टाका नाममा २०० को ठाउँमा २७५/८० को वरिपरि टिपर कुदिरहेको छ । जसले फोहोर मैलाको व्यवस्थापनको जिम्मा लिएका छन्, उनीहरूले पैसा कुम्ल्याइरहेका छन् । उनीहरूको यो फोहोर मैला व्यवस्थापन हुने बित्तिकैसबै कुरा गुम्छ ।

त्यो गुम्ने डरले त्यस्ता व्यक्तिहरु अलि ठूलो सङ्ख्यामा लागिपरेका छन् । जुन सङ्ख्याले काठमाडौँ महानगरलाई पनि र सरकारलाई पनि प्रभावमा पार्न सक्छ । बन्चरे डाँडामा काठमाडौँको फोहोर कति दिनसम्म फालिराख्ने भन्ने प्रश्न पनि रहन्छ ।

भदौ १ बाट फोहोर फाल्न नपाएपछि त त्यत्रो लगानी गरेर बनाएको पूर्वाधारको कुनै अर्थ भएन नि त ?

काठमाडौँ महानगरसँग हामीले सहकार्य गर्नुपर्छ । त्यहाँ यतिसम्म समस्या छ कि बन्चरे डाँडाका छोरा या छोरी भन्दा मान्छेहरू नाक खुम्च्याउँछन् । स्कुलका विद्यार्थीहरु हामी यो ठाउँका भन्ने अवस्था छैन । त्यसैले यो काठमाडौँको फोहोर बन्चरे डाँडा मा लैजाने कुरा कहिल्यै टुङिदैन ।

यो समाधान कहिले हुँदैन । त्यसैले सधैँभरिको लागि यो च्याप्टर क्लोज गर्नुपर्दछ । आधुनिक टेक्नोलोजीको प्रयोग गरेर मल बनाउनतर्फ लाग्नुपर्छ । कतिपटक बन्चरे डाँडा खोज्ने ? आज यो ठाउँ समाधान होला फेरि अर्को ठाउँ खोज्नुपर्ने होला । त्यहाँका जनताहरू पनि गुनासा गर्ने, फेरी सरकारका विरुद्धमा लाग्ने, आन्दोलित हुने हुन्छ । त्यसैले यसलाई रोक्नुपर्दछ।

यो च्याप्टर क्लोज गरेर नयाँ के गर्ने योजना गर्नु भनेका छ त ?

धरानमा पनि एउटा समूहले त्यहाँको फोहोरलाई स्रोतका रूपमा लिएर मल बनाएको छ । जुन मलबाट उत्पादन निकै राम्रो भएको छ । ग्यास निकालेको छ तर त्यो ग्यास भर्ने साधन छैन । त्यो हामीले व्यवस्थापन गर्नु पर्दछ । फोहोरबाट निकालिएको ग्यास जुन सवारी साधनमा पेट्रोल भर्ने डिजेल भर्ने जुन चलन छ त्यसको ठाउँमा ग्यास भर्ने नीति ल्याउनु पर्दछ । त्यसै गरी बिजुली पनि निकाल्न सकिन्छ भन्ने सुन्नमा आएको छ ।

बिजुली निकाल्नका लागि काठमाडौँको टेकुमा एउटा मेसिन राखिएको थियो त्यसले अहिलेसम्म काम गरेन नि ?

एकै पटक सबै समस्या समाधान हुँदैन । हामी शासकहरूले नेपाली समाजका समस्याहरूलाई गहन तरिकाले लिन सकेका छैनौँ । त्यसको सम्बोधन गर्न सकेका छैनौँ । त्यसको मुख्य कारण भनेको हामीसँग क्षमता नभएर हो । त्यो चिज देखाएर आफ्नो व्यापार बढाइराख्ने आफ्नो राजनीतिलाई टिकाई राख्ने, गरिबी बनाइराख्ने, मान्छेलाई अभावमा बाँच्ने माहोल बनाइराख्ने चेतना छ ।

जसले मुलुकलाई चलाएको छ, त्यसैले जबसम्म यो मनोविज्ञानलाई परिवर्तन गर्न सकिएन भने समाजको कुनै पनि समस्या सम्बोधन हुन सक्दैन । जनताहरू बोल्दा केही अगाडि जान्छ र जनता नबोल्दा जस्ताको त्यस्तै हुन्छ । त्यसैले सभ्य नागरिक र दृष्टि भएको लिडरसिप भयो भने मुलुक अगाडि बढ्छ ।

तपाईँले केही योजना बनाउनुभएको छ काठमाडौँको फोहोर व्यवस्थापनका लागि ?

फोहोर व्यवस्थापनको लागि वर्षाको कारणले अहिले सवारी साधन जानसक्ने अवस्था छैन । त्यसैले हामीले चाहेर पनि गाडिलाई फोहोर फाल्ने ठाउँसम्म पुर्‍याउन सक्ने अवस्था छैन । यसबारेमा सम्बन्धित व्यक्तिहरूसँग छलफल भइरहेको छ ।

बञ्चरे डाँडाको खास समस्या के देख्नुभयो ।

यहाँका स्थानीय र काठमाडौँ महानगरबीच प्रत्येक महिनामा दुईपटक जति सम्झौता हुने रहेछ । ती सम्झौतालाई सरकारले ध्यान दिन नसक्ने र फेरि जनताहरु सङ्घर्षमा उत्रिने खालको समस्या स्थापित भयो । अस्पताल बनाउने कुराहरू छन्, त्यसलाई मैले हेरेको छु ।

तपाईँहरूको मन्त्री पद मङ्सिरसम्म हुने हो कि फागुनसम्म हुने हो ?

मङ्सिर २१ गते चुनाव भयो । मैले २४ गतेको दिन सर्टिफिकेट पाएको थिएँ । संसद्को पहिलो बैठक फागुन २२ गते भएको छ । त्यसैले कुन मितिलाई मान्ने यसको निर्णय भएपछि चुनाव हुन्छ । कसैको पनि व्यक्तिगत कारणले मुलुकको नीतिमा कुनै पनि प्रभाव पार्नु हुँदैन । कानून विज्ञहरूले जुन मितिलाई मान्नु हुन्छ, त्यसको आधारमा नै सबैले मान्नुपर्छ ।

निर्वाचन आयोगले मङ्सिरमा नै चुनाव गर्ने गरी मितिको प्रस्ताव गरेको छ ?

सबैको कुरालाई मध्यनजर गरेर सबैभन्दा सही कुरालाई अगाडि बढाउने काम सरकारको हो ।

तपाईँहरूको पार्टीभित्र समाजवादी पार्टी बनाउने छलफल चलेको रहेछ है ?

जति सक्दो राजनीतिक दलहरूको बीचमा आफूलाई जति धेरै छलफल गर्न सक्यो, त्यति नै आफूलाई फाइदा हुन्छ । संसदीय प्रणाली वा संघको निर्वाचन भनेपछि या पार्टी ठूलोसानो भनेपछि संघ र प्रदेशमा कतिवटा सिट जितेको छ, त्यसको आधारमा पार्टी ठूलोसानो हुन्छ ।

त्यस कारणले आफ्नो रक्षाका लागि समाजवादी पार्टी मात्र हैन हिजो नेकपा एमाले पनि २०७४ सालमा धेरै राजनीतिक दलहरूसँग समन्वय गरेको थियो । त्यसैले ठूलो पार्टी बन्यो । काँग्रेस र हाम्रो समानुपातिकतर्फको भोटमा ४५०० मात्र फरक भयो ।

काँग्रेसले केही ठाउँमा चुनाव जितिराख्दा हामीले ८० ठाउँमा जित्यौँ । त्यसैले जसले जति धेरै राजनीतिक दलहरूसँग समन्वय गर्न सक्छ त्यति नै ठूलो पार्टी हुन्छ ।

दलहरूले एक्लाएक्लै चुनाव लड्न सक्ने तागत नभएको हो ?

एउटा पार्टीले १० वटासम्म दलसँग समन्वय गरेको हुन्छ भने एउटा पार्टीले मात्र एक्लै लड्ने कुरा धेरै न्यायिक हुँदैन । मुलुकको राजनीतिक दलहरू सबै मिलेर नै बनेका छन् ।

समाजवादी केन्द्र बनाएर कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने, लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरूसहित यो निर्वाचनपछि पनि कुन ढंगले अगाडि लैजान सकिन्छ सबैको सर–सल्लाहमा अगाडि बढ्छ ।

(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)