मुख्य समाचार

साँझ ५ बजेसम्मका मुख्य १० समाचार

By खबरहब

August 01, 2022

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् ।

साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट  पुन  पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आज  प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।

अघिल्लो पटकको आइओसीले पठाएको नयाँ मूल्यमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा मूल्य घटेर आए पनि आयल निगमले  भने मूल्य यथावत् राखेको थियो ।

पेट्रोलियम पदार्थमा ५० करोड घाटामा रहेको र इण्डियन आयल कर्पोरेशनलाई २२ अर्ब ४० भुक्तानी गर्न बाँकी रहेको भन्दै  निगमले पेट्रोलियम पद्धार्थको मूल्य यथावत् राखेको थियो । नयाँ मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ ।

अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । यद्यपि डिजेलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगम स्रोतले जनाएको छ

२. महँगी र भ्रष्टाचारविरुद्ध एमालेको जनप्रदर्शन 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा आज काठमाडौँमा आयोजना  गरेको वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ ।

मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो । जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्ति बाटिकामा पुगेर समापन सभामा परिणत हुनेछ ।

जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जन वर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहने छ ।

३. कोरोनाको उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सात वटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सात वटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सात वटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार प्रदेश नं १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगन्ज रहेका छन् ।

यस्तै बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङ रहेका छन् ।

४. श्रीमान्–श्रीमतीको विवादले परिवार नै सखाप काठमाडौँको राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा श्रीमान्–श्रीमतीको विवादले परिवार नै सखाप भएको छ । पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार मृतकमा श्रीमान्–श्रीमती र दुई छोराछोरी रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे  रहेका छन् । दिनेश र सुनिता श्रीमान् श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् ।

युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए।

५ . सेयर बजारमा सामान्य सुधार

शेयर बजार परिसुचक नेप्से  आज सामान्य अंकले वृद्धि भएको छ । नेप्से आज  १  दशमलव १५ अंकले बढेर २ हजार १ सय ९६ दशमलव   २५  विन्दुमा पुगेको हो ।

आज २ सय   १७ वटा कम्पनीको  १ करोड  ५  लाख  १८ हजार  ७ सय १२ कित्ता शेयर कुल  ४ अर्ब ६७  करोड   ७९ लाख   ८७  हजार ५६  रुपैयाँमा कारोबार भएको छ बुटवल पावर र गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढेको छ  ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, जलविद्युत् लगानी तथा विकास कम्पनी, अपी पावर र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।

६. बर्दिबासमा आगलागी

महोत्तरीको बर्दिबासमा आगलागी भएको छ । वारुणयन्त्र र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । आगलागीको कारण पत्ता लागेको छैन । सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो ।

माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्याङ्क आउन सकेको छैन ।

आगलागीग्रस्त क्षेत्रमा एसबीआई बैंक पनि सँगै रहेको छ भने सोही घरमा रहेको सिद्धार्थ बैंकमा कुनै क्षति नभएको सुरक्षाकर्मीहरूले जानकारी दिए ।

७. न्युजिल्यान्डको सिमाना पूर्ण रूपमा खोलियो न्युजिल्यान्डले पुन  सीमा नाका पहिलो पटक पूर्ण रुपमा खुला भएका छन् ।  कोरोना महामारीका कारण मार्च २०२० मा बन्द गरिएको न्युजिल्यान्डले  सीमा  नाका पुन  खुल्ला गरेको हो ।

भिसा भएका पर्यटक र विद्यार्थी भिसामा आउनेहरुलाई पनि  सिमा नाका खुल्ला गरिने  अधिकारीहरुले बताएका छन्  । न्युजिल्यान्ड प्रवेश गर्न आगन्तुकहरुले पूर्ण खोप लगाएको हुनुपर्नेछ । यद्यपि  क्वारेन्टिनको अनिवार्य भने  नगरिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री जासिन्डा आर्डेनले यो सतर्कतपूर्ण प्रक्रियाको एक हिस्सा भएको पनि उल्लेख  गरेका छन् ।

यस्तै समुद्री मार्ग पनि खोलिएको छ ।  क्रुज तथा याटहरुलाई प्रवेशअनुमति दिइएको छ । न्युजिल्यान्डमा कोभिडका कारण पर्यटन उद्योगमा ठूलो धक्का लागेको छ । गत  फेब्रुअरीदेखि  न्युजिल्याण्डले चरणबद्ध रुपमा सीमा खुला गर्न थालेको थियो।

८. अमेरिकाको फ्लोरिडामा गोली चल्यो, ७ जना घाइते अमेरिकाको फ्लोरिडाको डाउनटाउन ओर्लान्डोमा भएको सामूहिक गोलीकाण्डमा ७ जना घाइते भएका छन् । घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आक्रमणकारी अझै फरार छन् ।

एक अज्ञात आक्रमणकारीले एउटा हाते बन्दुक निकालेर भीडमा गोली हानेका थिए । आक्रमणमा सात जना घाइते भएका सीएनएनले जनाएको छ आक्रमणकारीबारे प्रहरीले थप केही जानकारी दिएको छैन ।

गैरसरकारी संस्था गन भ्वायलेन्स अर्काइभका अनुसार यो वर्ष कम्तीमा ३८१ जना घाइते भएका छन् ।

९. एकै दिन ८९५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रायका अनुसार पछिल्लो एक दिनमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् । यस्तै, अहिले नेपालमा ४९ सय ३४ जना संक्रिय संक्रमित रहेका छन् ।

१०. सरकारले देशलाई पुनः द्वन्द्वमा धकेल्यो : प्रकाण्ड

नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको हो ।

पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुनः द्वन्द्वमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयनको चरणमै छ । सहमति अनुसार सरकारले काम गरिरहेको छैन ।’

३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूमा म्याद बेपत्ता तामेल भएको भन्दै ६ साउन ०७९ को आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोही गर्दै सशस्त्र द्वन्द्वमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एक जनाको ज्यान गएको थियो । देश भरी यस्ता हिंस्रक घटना घटाएको सो समूहविरुद्ध देशैभरि उजुरी परेका छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरूविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन्, जसका कारण अदालतले समय समयमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ।