तस्वीर- तस्निम

अन्तर्राष्ट्रिय

इजरायलद्वारा सिरियामाथि क्षेप्यास्त्र प्रहार

By खबरहब

September 01, 2022

काठमाडौँ- इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको छ । बुधबार अबेर इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको हो । सो क्षेप्यास्त्र सिरियाको उत्तरी शहर अलेपोको एक विमानस्थलनजिकै प्रहार गरिएको जनाइएको छ ।

सिरियाली उत्तरी शहर अलेपोको एक विमानस्थल र त्यहाँ रहेको एक सैनिक क्याम्पमा सो क्षेप्यास्त्र हानिएको सिरियाली सेनाले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ ।

मध्यरातमा विमानस्थलनजिकै हानिएको सो क्षेप्यास्त्रले केही संरचनामा क्षति पुगेको बताइएको छ । त्यसको एक घण्टापछि सैनिक शिविरमा पनि सो हमला भएको सेनाको उक्त विज्ञप्तिमा जनाइएको छ ।

सिरियाली सैनिकले ती क्षेप्यास्त्रको प्रतिरक्षा गरेको जनाएको छ । तर कतिपय भौतिक संरचनामा सो आक्रमणबाट क्षति पुगेको भने सेनाले जनाएको छ ।

मानवीय क्षतिको विवरण भने प्राप्त नभएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।