फाइल तस्वीर- पीए

अन्तर्राष्ट्रिय

पाकिस्तानमा पोलियो खोप अभियानको सुरक्षामा खटिएका दुई प्रहरीको हत्या

By खबरहब

September 01, 2022

काठमाडौँ- पाकिस्तानमा पोलियोविरुद्धको खोप अभियानको सुरक्षामा खटिएका दुई सुरक्षाकर्मीको गोली हानी हत्या गरिएको छ ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको तानक जिल्लामा खटिएका ती सुरक्षाकर्मीमाथि अज्ञात बन्दुकधारीले गोली प्रहार गरेको द न्यूज इन्टरनेशनलले जनाएको छ ।

‘सानो नहरमा लुकेर बसेका दुई बन्दुकधारीले नजिकैबाट प्रहरीमाथि गोली चलाएका थिए ।’ वरिष्ठ सुरक्षा अधिकारी वकार अहमद खानले जनाएका छन् ।

त्यसपछि उनीहरु मोटरसाइकल चढेर फरार भएका थिए ।

विश्वमा हाल पाकिस्तान र पाकिस्तानको उत्तरी छिमेकी अफगानिस्तानमा मात्रै प्रकोपको रुपमा रहेको बताइन्छ ।

ती मुलुकमा सक्रिय इस्लामिक अतिवादीहरुले पोलियोविरुद्धको खोपले प्रजनन् क्षमता घटाउने एवम् यस्तो खोप इस्लामविपरीत रहेको भन्दै विरोध गर्दै आएका छन् ।

बेलाबेला त्यहाँ खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीमाथि पनि आक्रमणका घटना सार्वजनिक हुने गरेका छन् ।