समाचार

‘अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणमा जुट्नुपर्छ’

By खबरहब

October 01, 2022

काठमाडौँ– सरोकारवालाहरूले उपभोक्ता अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको प्रथम साधारणसभामा उनीहरूले उपभोक्ता अधिकारको विषयलाई प्रमुख बनाएर राज्य र उपभोक्ता अधिकारकर्मी मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटाले अहिले उपभोक्ता अधिकारकर्मी र सरकारबीच कित्ताकाट भएजस्तो देखिएको भन्दै दुई निकाय मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले निस्वार्थ पमा दुवै पक्षले काम गर्नुपर्ने बताए । बाँस्कोटाले आफ्नो अधिकारका लागि स्वयं आमउपभोक्ता पनि सजग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले मुलुकको बजार अस्वस्थ रहेकाले यसलाई स्वास्थ्य बनाउन गम्भीर भएर अधिकारकर्मीहरू अघि बढ्नुपर्ने धारणा राखे ।