देश/प्रदेश

नलगाड नगरपालिकाद्वारा विपन्नलाई खाद्यान्न सहयोग

By खबरहब

October 01, 2022

काठमाडौँ- जाजरकोटको नलगाड नगरपालिकाले अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । अर्थावस्था अत्यन्तै कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई नजिकिँदै गरेको चाड दसैँलाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको हो ।

नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई किलो दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । आर्थिक अभावका कारण घरमा चुल्हो बल्न धौधौ परेका ती विपन्न परिवारलाई थोरै भए पनि चाडवाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत गिरीले बताए ।

दल्लीस्थित बादी समुदायले माछा मारेर दैनिक घर खर्च चलाउँदै आएको छ । अधिकांशको आफ्नै जग्गा नभएका कारण अस्थायीरूपमा बस्दै आएका छन् । पालिकाले विभिन्न सीपमूलक तालिम दिएर पनि रोजगारी सिर्जना गर्न बादी समुदायलाई सहायता गर्दै आएको छ ।

दैनिक ज्याला मजदुरी गरेर छाक टार्टे बादी समुदायलाई पालिकाले समय–समयमा आर्थिक सहयोग गर्दै आएको छ ।