समाचार

लुटपाटमा सङ्लग्न दुई भारतीय हतियारसहित पक्राउ

By खबरहब

November 01, 2022

बुटवल – रुपन्देही प्रहरीले लुम्बिनीमा लुटपाट गर्ने दुई भारतीयलाई हतियारसहित पक्राउ गरेको छ । गत असोज २३ गते लुम्बिनी सांस्कृतिक नगरपालिका–६ पर्सा महिलावारको नवजीवन स्कुल अगाडि दुवै जनाले हतियार देखाइ लुटपाट गरेका थिए ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुवै जना लु५०प ७५९ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । उनीहरुले लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मोग्लहास्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीबाट रु १० लाख ९० हजार लुटेका थिए ।

प्रहरीले यही कात्तिक १० गते दुवैजनालाई कोटहीमाई गाउँपालिका–१ सिपवाबाट पक्राउ परेको रेग्मीले बताए । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको गोरखपुरका चालक २८ वर्षीय सुनीलकुमार सहनी र सोही ठाउँका २६ वर्षीय शशीकान्त भट्ट रहेका छन् ।

उनीहरुबाट प्रहरीले एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल, एउटा पेस्तोल, म्याग्जिन, पाँच राउण्ड गोली, कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली, मोबाइल तथा परिचयपत्र बरामद गरेको छ । पक्राउ परेका दुवैलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको रेग्मीले जानकारी दिए ।