आर्थिक

अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी : अर्थमन्त्री जनार्दन शर्मा

By खबरहब

December 01, 2022

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हुने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए । अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको पनि स्पष्ट पारे । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।

अहिलको अवस्थामा अर्थतन्त्रमा देखिएका केहि चुनौतीहरुलाई सामना गर्न निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । अर्थमन्त्री शर्माले निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा अब अर्थतन्त्रको बहस सुरु भएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकले आवश्यक कदम चालेकाले सकारात्मक नतिजाहरु देखापर्न थालेको बताए । गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताए । बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उहाँले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एमाले उपाध्यक्ष विष्णु पौडेल लगाएतले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको धारणा राखेका थिए ।