राजनीति

माओवादीमा सर्वसम्मतीको सकस, निर्वाचन तालिका तेस्रो पटक संशोधन

By खबरहब

January 02, 2022

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी तथा केन्द्रीय समिति सदस्य चयनमा सकस भएको छ ।

सर्वसम्मतीको प्रयासमा शनिबार नै सकिने भनिएको महाधिवेशन आजसम्म लम्बिएको छ । सर्वसम्मतीका लागि आज दिउँसो २ बजेसम्मको समय तोकिए पनि त्यसमा पनि सहमति नजुटेपछि निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ ।

शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।

अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो ।

माओवादीमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी आधारमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी विधान संशोधन भएको छ । यस्तै मनोनित गरिने केन्द्रीय सदस्य प्रतिशत १० बाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।