मनोरञ्जन

‘लाखे’ मा सुनीलको स्थानमा प्रशान्त

By खबरहब

February 02, 2022

काठमाडौं– अभिनेता सुनील थापा बलिउड फिल्ममा व्यस्त हुने भएपछि फिल्म ‘लाखे’मा उनको स्थानमा अर्का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा प्रशान्तले प्रमुख भिलेनको भूमिका निभाउनेछन् ।

अभिनेता ताम्राकारले आफु ‘लाखे’ मा जोडिन पाउदा खुसी लागेको बताए । ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो’ ताम्राकारले भने ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ ।’ फिल्ममा आफुले सक्दो नयाँ र राम्रो काम गर्न कोसिस गर्ने ताम्राकारले सुनाए ।

सम्राट बस्नेत निर्देशित फिल्म ‘लाखे’को काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । फिल्ममा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बालगायतका कलाकारको अभिनय छ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता रहेका छन् ।