कपिलवस्तु– वातावरण सन्तुलन र जैविक विविधतामा महत्त्वपूर्ण सिमसार मानवीय अतिक्रमणको चपेटामा पर्दा जैविक विविधता सङ्कट पर्न थालेको छ । सिमसार क्षेत्रमा एकोहोरो दोहन, संरक्षणको अभाव तथा मानवीय अतिक्रमणका कारण सङ्कटमा पर्न लागेको सरोकारवाला बताउँछन् ।
नेपालमा करिब ५ प्रतिशत भूभाग सिमसार रहेका छन् । देशभर ९ सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचिमा सूचिकृत रहेका छन् । रामसार क्षेत्रमा सूचिकृत कपिलवस्तुको जगदीशपुर तालमा पर्यटकीय चहलपहल बढेसँगै मानवीय गतिविधि बढ्दै गएको छ । जसको असर देखिन सुरु भएको छ ।
कपिलवस्तुको जगदीशपुर तालमा बुधवार २६औं विश्व सिमसार तथा ९ औं चरा दिवसमा मनाउँदै गर्दा सरोकारवालाको सिमसार दोहनमा चिन्ता व्यक्त गरेका छन् । वक्ताहरूले सिमसार संरक्षणमा सरकार र समुदायले चासो दिनु पर्नेमा जोड दिएका छन् ।
मानवीय चहलपहलकै कारण चराको स्वर्ग मानिँदै आएको जगदीशपुर तालमा चराको सङ्ख्या घट्नुले सिमसार क्षेत्र सङ्कटमा पर्न लागेको बताइएको छ । लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले सिमसार क्षेत्रको संरक्षणका लागि लुम्बिनी प्रदेश सरकारले ध्यान दिने जनाउँदै प्रस्तावना तयार गर्न स्थानीयसँग आग्रह गरे ।
सिमसार क्षेत्रमा फोहर फाल्ने, नदीबाट बगेर आएका फोहर मैला प्लास्टिक जम्मा हुने कारणले जीव जन्तु खतरामा परेको बताइएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजय राज सुवेदीले भने, ‘अब सिमसार विभिन्न किसिमले सकिँदै छ । पानी निकालेर सुकाएर खेतीपाती गर्ने प्रचलन रहेको छ । सिम मासेर धान रोपिएको छ । सिमसारमा फोहर फाल्दा नचाहिने बस्तु जम्मा हुँदा जीवजन्तु लाई असर गर्ने र सिमसार पनि मासिने समस्या थप भएको छ ।’
यता सिमसार क्षेत्रमा मानवीय गतिविधि बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर देखिन सुरु भएको छ । जगदीशपुर तालमा मानवीय क्रियाकलाप बढेको छ । डुङ्गा चलाउँदा चराहरूको चहलपहलमा बाधा उत्पन्न देखिएको छ । पछिल्ला तीन वर्षमा आगन्तुक चराको संख्यासमेत घट्दै गएको स्थानीय फोटो पत्रकार बृजेश जयसवालले बताए । नेपाल पन्छी संरक्षण संघले गरेको चरा गणनाअनुसार जगदीशपुर तालमा चराको सङ्ख्या वर्षेनी घटेको छ ।
संघका प्रोजेक्ट अफिसर भूपाल नेपालीका अनुसार जगदीशपुर तालमा सन २०१९ मा १४९८०, सन २०२० मा २०८००, सन २०२१ मा १२०६३ चरा गणना भएका थिए । तर, यस वर्ष १३ हजारको हाराहारीमा चरा गणना भएको नेपालीले बताए । हिमाली नेचरले गरेको गणनामा ९३०० चरा फेला परेका थिए ।
मानिसको चहलपहल, चोरी सिकारी, प्रजनन कार्यमा बाधा पुर्याउने, बास स्थानमा समस्याले गर्दा चराको सङ्ख्या घट्दै गएको छ । सिमसार क्षेत्रमा किनारहरू स्थानीयले मिच्दै गएको कारणले समेत सिमसार साँघुरो बन्दै गएको छ । कृषि कार्यमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदासमेत सिमसार क्षेत्रको जैविक विविधतामा समस्या भएको बायोलोजीस्ट दिलीप चन्दले बताए ।
सिमसारलाई जैविक, सामाजिक पर्यावरणीय, पर्यटकीय, आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण मानिए पनि समुदाय र सरकार बिचको असमझदारीको कारण चपेटामा पर्दै गएको छ । नेपाल सरकारले सिमसार संरक्षणका लागि सिमसार नीति २०६९ जारी गर्दै संरक्षण र व्यवस्थापन गर्ने नीति लिएको छ ।