समाचार

माझी समुदायले मनाए कोशी पूजा

By खबरहब

March 02, 2022

उदयपुर – माझी समुदायले धुमधामका साथ मंगलबार कोशी (लदी) पूजा मनाएका छन् । खोला तथा नदी किनारमा कोशी (लदी) पूजा मनाइएको हो ।

माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । माझी समुदायले हरेक वर्ष फागुन तेस्रो मंगलबार यो पर्व मनाउँदै आएका छन् । माझी समुदायको पुर्खौली थलो कोशी किनार हो । विशेष गरी पानीको पूजा गर्ने भएकाले पनि यो समुदायले कोशी पूजालाई ठूलो पर्वको रुपमा लिने गर्छ ।

लदी पूजाका दिन सामुहिक रुपमा नदी किनारमा महादेव, मसान, बज्रको साथै ठूलो कोशीको पूजा गरिन्छ । बज्रको पुजा गर्दा घरमा चट्याङले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायका अगुवा बताउँछन् । पूजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डा लगायतका फुल अक्षताको प्रयोग हुन्छ ।

माझी समुदायले लदीलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग राखे पनि सरकारले सम्बोधन नगरेको नेपाल माझी उत्थान संघ उदयपुरका सचिव दिपक माझीले बताए ।