समाचार

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अतिथि गृह तथा सभाहल निर्माण सम्पन्न

By खबरहब

March 02, 2022

लुम्बिनी-  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ । 

रु दुई करोड २२ लाखको लागतमा अतिथि गृह तथा रु एक करोड ५७ लाखको लागतमा सभाहलको निर्माण भएको छ । वडा नं ९ स्थित केवलानीमा १६ कोठाको अतिथि गृह र एक हजार २०० जना अट्ने क्षमताको सभाहल निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

सो सभाहलमा हाल कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० शय्याको अस्थायी कोरोना अस्पताल निर्माण गरेको हो ।

महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्य अनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ । नगरपालिकाले दुई बिघा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको नगरपालिकाका योजना प्रमुख इञ्जिनीयर प्रदीप वनले जानकारी दिए  ।

 पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले आज सभाहलको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक लगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताए  ।

 प्रदेशसभा सदस्य रमा अर्याल, पूर्व प्रदेशसभा सदस्य दधिराम न्यौपानेलगायतले विकास निर्माण तथा महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताए  ।  नगर प्रमुख वासुदेव घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।