फाइल तस्वीर

समाचार

पोखरामा भेटियो बर्डफ्लु, एकैदिन २०० पन्छी नष्ट

By खबरहब

March 02, 2022

कास्की-  पोखरामा बर्डफ्लु रोग भेटिएको छ ।

पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा  कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो ।

ती वडामा आज खटिएको प्रविधियुक्त टोलीबाट २०० भन्दाबढी सङ्ख्यामा कुखुरा, हाँस र बट्टाईसहित प्रयोग हुने दाना, सुलीलगायतका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गरिएको जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति कास्कीका सञ्चार अधिकृत डा ग्रीष्म न्यौपानेले जानकारी दिए  ।

उनले भने , “उक्त क्षेत्रमा व्यावसायिक फार्म नभए पनि खुला जग्गा र घरको छतमा राखेर पाल्ने सङ्ख्या सोचेभन्दा बढी भेटिएको छ ।” दुवै स्थानमा आजैदेखि फागुन २७ गतेसम्म पक्षी र पक्षीजन्य पदार्थको ओसारपसारमा समेत रोक लगाइएको उनको भनाइ छ ।

पोखरा–१५ सीताराम पुल नजिक सिद्धिमार्ग अलस्कापुर टोलका खुशीमान गुरुङ र पोखरा–१७ घारीपाटन हिमाल दूध डेरीनजिक खेमबहादुर क्षेत्रीले पालेको स्थानीय जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको बताइएको छ ।

स्थानीयवासी खुशीमान र खेमबहादुरले घरमा पालेका कुखुरा र हाँस धमाधम मर्न थालेपछि जिल्ला प्रयोगशालामा ल्याई आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएसँगै थप परीक्षणका लागि काठमाडौँ पठाइएकामा एकैदिन फागुन १५ गते दुवै स्थानमा सङ्क्रमण पुष्टि भएको हो ।

सञ्चार अधिकृत न्यौपानेले भने , “सक्रंमण देखिएको स्थानलाई इपिसेन्टर मानेर चार किल्ला निर्धारण गरिएको छ ।” स्थानीय जनप्रतिनिधिको रोहवरमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्राविधिक, प्रहरीसहितको टोलीले पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।

आजै नष्ट गरिएका पन्छी र सङ्कलन गरिएको पन्छीजन्य पदार्थलाई पोखराको ल्याण्डफिल्डनजिकै खाली जग्गामा लगेर व्यवस्थित गर्ने तयारी भइरहेको छ